पाकिस्तानमा अस्पतालमा आगलागी, कम्तीमा १५ नवजात शिशुको मृत्यु

आप्रवासन आप्रवासन

 

पाकिस्तानको राजधानी इस्लामाबादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (पीआईएमएस) अस्पतालको नवजात शिशु राखिएको वार्डमा आगलागी हुँदा कम्तीमा १५ शिशुको मृत्यु भएको छ । स्थानीय सञ्चारमाध्यम जियो न्युजका अनुसार घटना बुधबार अस्पतालको नर्सरीमा भएको हो ।

आगलागी हुँदा उक्त वार्डमा १६ जना नवजात शिशु रहेका थिए । तीमध्ये एक जनालाई मात्र सकुशल उद्धार गरिएको अस्पतालका अधिकारीहरूले बताएका छन् । अधिकारीहरूका अनुसार नर्सरीभित्र रहेको एयर कन्डिसनरको कम्प्रेसर विस्फोट भएपछि आगलागी सुरु भएको प्रारम्भिक जानकारी छ । 

आगलागीपछि तत्काल दमकल परिचालन गरिएको थियो । दमकलकर्मीले आगो नियन्त्रणमा लिए पनि घटनास्थलमा तातोपन कम गर्ने तथा थप जोखिम रोक्ने काम जारी राखिएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।