अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन (आईसीई)ले जुलाईमा ४९ हजार ५७१ जनालाई पक्राउ गरेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएपछि एकै महिनामा गरिएको यो सबैभन्दा धेरै गिरफ्तारी हो । आईसीईले क्यालिफोर्निया विश्वविद्यालय, बर्कली र लस एन्जलसस्थित क्यालिफोर्निया विश्वविद्यालयमा आधारित ‘डिपोर्टेसन डेटा प्रोजेक्ट’लाई उपलब्ध गराएको सरकारी तथ्यांकलाई एसोसिएटेड प्रेस (एपी)ले विश्लेषण गरेको थियो । विश्लेषणअनुसार जुलाईमा भएको गिरफ्तारी जुनको तुलनामा करिब १५ प्रतिशत र फेब्रुअरीको तुलनामा करिब ७० प्रतिशत बढी हो ।
जनवरी २०२५ मा ट्रम्प ह्वाइट हाउस फर्किनुभन्दा अघिल्लो महिना अर्थात् डिसेम्बर २०२४ मा आईसीईले मासिक रूपमा ८ हजारभन्दा केही बढीलाई पक्राउ गरेको थियो । त्यतिबेला अमेरिकाबाट डिपोर्ट गर्न सकियोस् भनेर पक्राउ पर्ने अधिकांश आप्रवासीलाई स्थानीय वा राज्यस्तरका जेलबाट आईसीईको जिम्मा लगाइएको थियो । ट्रम्प दोस्रोपटक राष्ट्रपतिका रूपमा फर्किएपछि पहिलो वर्षमै मासिक रुपमा पक्राउ पर्नेको संख्या बढ्न थाल्यो । आईसीईका अधिकारीलाई कहाँ र कस्ता व्यक्तिलाई पक्रन पाउने भन्नेमा रहेका सीमितता खुकुलो पारेपछि पक्राउ बढेको हो । डिसेम्बरसम्म आइपुग्दा मासिक गिरफ्तारी ४० हजार नाघ्यो ।
जनवरीमा मिनेसोटामा भएका दुई घातक गोलीकाण्डपछि प्रदर्शन र डेमोक्रेटिक सांसदहरूको तीव्र विरोध सुरु भएपछि फेब्रुअरीमा गिरफ्तारी संख्या घट्न थालेको थियो ।
त्यसपछि केही महिना खासै परिवर्तन नभएको संख्या जुनमा फेरि बढ्यो र जुलाईमा अझ तीव्र रूपमा उकालो लाग्यो । जुलाईमा भएका गिरफ्तारीमध्ये झन्डै २० हजार टेक्सस र फ्लोरिडामा थिए । यी दुवै राज्यले आईसीईसँग ‘२८७–जी’ सम्झौता गरेका छन् । यस्तो सम्झौताअन्तर्गत स्थानीय कानुन कार्यान्वयन निकायले अध्यागमनसम्बन्धी कारबाहीमा आईसीईको थप सहयोगी संयन्त्रका रूपमा काम गर्न सक्छन् ।
आईसीईको गिरफ्तारी अभियान विस्तार हुनुको पछाडि कर्मचारी भर्ना अभियान पनि छ । गत वर्ष आईसीईले करिब १२ हजार नयाँ अधिकारी तथा एजेन्ट थपेको थियो ।