२०२५ मा पनि तिब्बती हिमताल फुटेर भोटेकोशीमा आएको थियो बाढी

आप्रवासन आप्रवासन

 

चिनियाँ समाचारका अनुसार रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीको खास कारण सोही दिन नेपाल–चीन सीमाको चिनियाँ भू–भागमा गएको गम्भीर पहिरोलाई जनाइएको छ । यही पहिरोकै कारण सडक, सञ्चार तथा विद्युत् सेवा प्रभावित भएको चिनियाँ समाचारले जनाएका छन् । 

चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार तिब्बत स्वायत्त क्षेत्रको शिगात्सेअन्तर्गत ग्यिरोङ काउन्टीमा रहेको ग्यिरोङ बन्दरगाहनजिक बुधबार पहिरो गएको हो । स्थानीय अधिकारीका अनुसार पहिरोका कारण बन्दरगाहतर्फ जाने सडक अवरुद्ध हुनुका साथै सञ्चार र विद्युत् आपूर्तिमा समेत असर परेको छ । 

ग्यिरोङ बन्दरगाह नेपालसँग जोडिने प्रमुख स्थलमार्ग हो । चिनियाँ भूभागमा पहिरो गएको खबर सार्वजनिक भइरहँदा नेपालतर्फ भने भोटेकोशी नदीमा जलसतह अचानक बढेको र रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा जनधनको अकल्पनिय क्षति पुगेको छ । भोटेकोशीको माथिल्लो जलाधार तिब्बतमा पर्छ । तिब्बततर्फका हिमनदी, हिमताल तथा पहाडी भूभागमा हुने आकस्मिक परिवर्तनले नेपालतर्फको नदीमा प्रभाव पार्न सक्ने भएकाले हिमताल विस्फोटजन्य बाढी अर्थात् ग्लेसियल लेक आउटबर्स्ड फ्लड नै बाढीका मुख्य कारण हुने गरेका छन् । 

यस क्षेत्रमा हिमतालसम्बन्धी जोखिम भने नयाँ होइन । सन् २०२१ म हाइड्रोलोजी एन्ड अर्थ सिस्टम साइन्समा प्रकाशित अध्ययनले पोइकु नदी जलाधारमा १४७ वटा हिमताल पहिचान गरेको थियो र यस क्षेत्रमा हिमतालको परिवर्तन तथा GLOF जोखिम अध्ययनको आवश्यकता औंल्याएको थियो । पोइकु नदी नेपाल प्रवेश गरेपछि भोटेकोशी प्रणालीसँग जोडिन्छ । 

२०२५ को बाढीले देखाएको जोखिम

भोटेकोशीमा तिब्बती भूभागबाट आएको आकस्मिक बाढीको सम्भावना बुझ्न सन् २०२५ को घटना महत्त्वपूर्ण उदाहरण हो । २०२६ मा प्रकाशित एक वैज्ञानिक अध्ययनअनुसार ८ जुलाई २०२५ मा प्युरेपु हिमनदी क्षेत्रमा भएको विशाल सुप्राग्लेसियल हिमतालको विस्फोटले चीन–नेपाल सीमापार विनाशकारी बाढी निम्त्याएको थियो । अध्ययनले उक्त घटनामा करिब ९१ लाख घनमिटर पानी बाहिरिएको र ठुलो जलप्रवाहले चीन–नेपाल सीमापार क्षेत्रमा गम्भीर क्षति पुर्‍याएको देखाएको छ । उक्त घटनामा ११ जनाको मृत्यु भएको थियो भने १९ बेपत्ता भएका थिए । 

अर्को अध्ययनले उक्त घटनालाई चीन–नेपाल सीमापार फैलिएको जल तथा मलबे प्रवाहको ठुलो श्रृंखलाका रूपमा विश्लेषण गरेको छ । अध्ययनअनुसार बाढीको उच्चतम प्रवाह करिब ३,६९६ घनमिटर प्रतिसेकेन्डसम्म पुगेको थियो र यसको प्रभाव १०० किलोमिटरभन्दा बढी दूरीसम्म फैलिएको थियो । 

त्यस घटनाले नेपाल–चीन जोड्ने पूर्वाधारमा समेत ठुलो क्षति पुर्‍याएको थियो । यसले तिब्बतमा हुने हिमताल तथा हिमनदीसम्बन्धी घटनाको असर नेपालसम्म कति छिटो र विनाशकारी रूपमा आइपुग्न सक्छ भन्ने देखाएको थियो । हिमताल फुट्दा माथिल्लो क्षेत्रमा थुप्रिएको पानी अचानक नदीमा मिसिन सक्छ । त्यस क्रममा नदीको बहावले चट्टान, माटो, बालुवा तथा हिमनदीजन्य मलबे बगाउँदा सामान्य वर्षाजन्य बाढीभन्दा धेरै शक्तिशाली बाढी बन्न सक्छ । 

बुधबारको घटनामा पनि चीनतर्फबाट प्राप्त सूचनाअनुसार हिमपहिरोपछि नदी थुनिएको र ताल बनेको जनाइएको छ ताल अझै पूर्ण रूपमा खुलिनसकेको पनि जानकारीमा आएको छ । 

चीनतर्फ पनि क्षति, केरुङ नाकामा असर पर्न सक्ने

नेपालमा भोटेकोशी बाढीका कारण क्षति भइरहँदा चीनतर्फ पनि प्राकृतिक विपत्तिको प्रभाव देखिएको छ । ग्यिरोङ बन्दरगाहनजिकको पहिरोले सडक अवरुद्ध गर्नुका साथै सञ्चार र विद्युत् आपूर्ति प्रभावित बनाएको छ । हालसम्म १७ चिनियाँ नागरिक बेपत्ता भएको पनि चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । ग्यिरोङ अर्थात् केरुङ क्षेत्र नेपाल–चीन सीमापार व्यापार र आवागमनका लागि महत्त्वपूर्ण भएकाले चिनियाँ भू–भागमा भएको क्षतिले सीमा आवागमन तथा केरुङ नाकामार्फत हुने व्यापारमा समेत असर पार्ने देखिन्छ । 

यसले नेपालका लागि बाढीको जोखिमसँगै सीमापार यातायात तथा आपूर्ति प्रणालीको जोखिम पनि बढाएको छ ।

किन नेपालका लागि यो घटना संवेदनशील छ ?

भोटेकोशीको माथिल्लो जलाधार तिब्बती भूभागमा रहेकाले नेपालमा नदीको जलसतह बढ्नुअघि माथिल्लो क्षेत्रमा भएको प्राकृतिक घटनाको जानकारी पाउन चुनौती हुन सक्छ । २०२५ को घटनाले यही जोखिमलाई थप स्पष्ट पारेको थियो । पछिल्लो वैज्ञानिक अनुसन्धानले पनि चीन–नेपाल सीमापार बाढीको जोखिम भएका नदी प्रणालीमा हिमतालको नियमित निगरानी, उपग्रहमा आधारित परिवर्तन पहिचान र वास्तविक समयको तथ्यांक आदानप्रदान आवश्यक रहेको देखाएको छ । चीन–नेपाल सीमापार पोइकु–भोटेकोशी र ग्यिरोङ–त्रिशूली जलाधारमा गरिएको जोखिम मूल्यांकनले पनि बाढी जोखिमलाई सीमापार रूपमा अध्ययन गर्नुपर्ने देखाएको छ ।

त्यस्तै, तिब्बतमा हिमताल, हिमनदी र पहाडी भू–भागमा भइरहेको आकस्मिक परिवर्तनबारे नेपालले वास्तविक समयको सूचना कति छिटो पाउँछ ? भन्ने अर्को महत्त्वपूर्ण प्रश्न पनि बुधबारको घटनाले ब्युझाएको छ ।
माथिल्लो जलाधारमा हिमताल फुट्ने, हिमनदी भत्किने वा ठुलो पहिरो जाने घटना भएमा त्यसको सूचना नेपालका नदीतटीय बस्तीमा केही घण्टाभन्दा कम समयमा पुर्‍याउनुपर्ने हुन सक्छ । त्यसका लागि दुई देशबिच नियमित तथ्यांक आदानप्रदान, स्वचालित जलमापन केन्द्र, उपग्रह निगरानी र प्रभावकारी पूर्वसूचना प्रणाली महत्त्वपूर्ण हुन्छ । 

त्यसो त २०२५ मा यही सीमापार जलाधारमा भएको विनाशकारी बाढी र पछिल्ला वैज्ञानिक अध्ययनले तिब्बतमा हुने हिमताल तथा हिमनदीसम्बन्धी घटनाबाट नेपालमा तत्काल ठूलो असर पर्न सक्ने जोखिम स्पष्ट गरिसकेका छन् ।