चिनियाँ समाचारका अनुसार रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीको खास कारण सोही दिन नेपाल–चीन सीमाको चिनियाँ भू–भागमा गएको गम्भीर पहिरोलाई जनाइएको छ । यही पहिरोकै कारण सडक, सञ्चार तथा विद्युत् सेवा प्रभावित भएको चिनियाँ समाचारले जनाएका छन् ।
चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार तिब्बत स्वायत्त क्षेत्रको शिगात्सेअन्तर्गत ग्यिरोङ काउन्टीमा रहेको ग्यिरोङ बन्दरगाहनजिक बुधबार पहिरो गएको हो । स्थानीय अधिकारीका अनुसार पहिरोका कारण बन्दरगाहतर्फ जाने सडक अवरुद्ध हुनुका साथै सञ्चार र विद्युत् आपूर्तिमा समेत असर परेको छ ।
ग्यिरोङ बन्दरगाह नेपालसँग जोडिने प्रमुख स्थलमार्ग हो । चिनियाँ भूभागमा पहिरो गएको खबर सार्वजनिक भइरहँदा नेपालतर्फ भने भोटेकोशी नदीमा जलसतह अचानक बढेको र रसुवाको टिमुरे, स्याफ्रुबेसीलगायत क्षेत्रमा जनधनको अकल्पनिय क्षति पुगेको छ । भोटेकोशीको माथिल्लो जलाधार तिब्बतमा पर्छ । तिब्बततर्फका हिमनदी, हिमताल तथा पहाडी भूभागमा हुने आकस्मिक परिवर्तनले नेपालतर्फको नदीमा प्रभाव पार्न सक्ने भएकाले हिमताल विस्फोटजन्य बाढी अर्थात् ग्लेसियल लेक आउटबर्स्ड फ्लड नै बाढीका मुख्य कारण हुने गरेका छन् ।
यस क्षेत्रमा हिमतालसम्बन्धी जोखिम भने नयाँ होइन । सन् २०२१ म हाइड्रोलोजी एन्ड अर्थ सिस्टम साइन्समा प्रकाशित अध्ययनले पोइकु नदी जलाधारमा १४७ वटा हिमताल पहिचान गरेको थियो र यस क्षेत्रमा हिमतालको परिवर्तन तथा GLOF जोखिम अध्ययनको आवश्यकता औंल्याएको थियो । पोइकु नदी नेपाल प्रवेश गरेपछि भोटेकोशी प्रणालीसँग जोडिन्छ ।
२०२५ को बाढीले देखाएको जोखिम
भोटेकोशीमा तिब्बती भूभागबाट आएको आकस्मिक बाढीको सम्भावना बुझ्न सन् २०२५ को घटना महत्त्वपूर्ण उदाहरण हो । २०२६ मा प्रकाशित एक वैज्ञानिक अध्ययनअनुसार ८ जुलाई २०२५ मा प्युरेपु हिमनदी क्षेत्रमा भएको विशाल सुप्राग्लेसियल हिमतालको विस्फोटले चीन–नेपाल सीमापार विनाशकारी बाढी निम्त्याएको थियो । अध्ययनले उक्त घटनामा करिब ९१ लाख घनमिटर पानी बाहिरिएको र ठुलो जलप्रवाहले चीन–नेपाल सीमापार क्षेत्रमा गम्भीर क्षति पुर्याएको देखाएको छ । उक्त घटनामा ११ जनाको मृत्यु भएको थियो भने १९ बेपत्ता भएका थिए ।
अर्को अध्ययनले उक्त घटनालाई चीन–नेपाल सीमापार फैलिएको जल तथा मलबे प्रवाहको ठुलो श्रृंखलाका रूपमा विश्लेषण गरेको छ । अध्ययनअनुसार बाढीको उच्चतम प्रवाह करिब ३,६९६ घनमिटर प्रतिसेकेन्डसम्म पुगेको थियो र यसको प्रभाव १०० किलोमिटरभन्दा बढी दूरीसम्म फैलिएको थियो ।
त्यस घटनाले नेपाल–चीन जोड्ने पूर्वाधारमा समेत ठुलो क्षति पुर्याएको थियो । यसले तिब्बतमा हुने हिमताल तथा हिमनदीसम्बन्धी घटनाको असर नेपालसम्म कति छिटो र विनाशकारी रूपमा आइपुग्न सक्छ भन्ने देखाएको थियो । हिमताल फुट्दा माथिल्लो क्षेत्रमा थुप्रिएको पानी अचानक नदीमा मिसिन सक्छ । त्यस क्रममा नदीको बहावले चट्टान, माटो, बालुवा तथा हिमनदीजन्य मलबे बगाउँदा सामान्य वर्षाजन्य बाढीभन्दा धेरै शक्तिशाली बाढी बन्न सक्छ ।
बुधबारको घटनामा पनि चीनतर्फबाट प्राप्त सूचनाअनुसार हिमपहिरोपछि नदी थुनिएको र ताल बनेको जनाइएको छ ताल अझै पूर्ण रूपमा खुलिनसकेको पनि जानकारीमा आएको छ ।
चीनतर्फ पनि क्षति, केरुङ नाकामा असर पर्न सक्ने
नेपालमा भोटेकोशी बाढीका कारण क्षति भइरहँदा चीनतर्फ पनि प्राकृतिक विपत्तिको प्रभाव देखिएको छ । ग्यिरोङ बन्दरगाहनजिकको पहिरोले सडक अवरुद्ध गर्नुका साथै सञ्चार र विद्युत् आपूर्ति प्रभावित बनाएको छ । हालसम्म १७ चिनियाँ नागरिक बेपत्ता भएको पनि चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । ग्यिरोङ अर्थात् केरुङ क्षेत्र नेपाल–चीन सीमापार व्यापार र आवागमनका लागि महत्त्वपूर्ण भएकाले चिनियाँ भू–भागमा भएको क्षतिले सीमा आवागमन तथा केरुङ नाकामार्फत हुने व्यापारमा समेत असर पार्ने देखिन्छ ।
यसले नेपालका लागि बाढीको जोखिमसँगै सीमापार यातायात तथा आपूर्ति प्रणालीको जोखिम पनि बढाएको छ ।
किन नेपालका लागि यो घटना संवेदनशील छ ?
भोटेकोशीको माथिल्लो जलाधार तिब्बती भूभागमा रहेकाले नेपालमा नदीको जलसतह बढ्नुअघि माथिल्लो क्षेत्रमा भएको प्राकृतिक घटनाको जानकारी पाउन चुनौती हुन सक्छ । २०२५ को घटनाले यही जोखिमलाई थप स्पष्ट पारेको थियो । पछिल्लो वैज्ञानिक अनुसन्धानले पनि चीन–नेपाल सीमापार बाढीको जोखिम भएका नदी प्रणालीमा हिमतालको नियमित निगरानी, उपग्रहमा आधारित परिवर्तन पहिचान र वास्तविक समयको तथ्यांक आदानप्रदान आवश्यक रहेको देखाएको छ । चीन–नेपाल सीमापार पोइकु–भोटेकोशी र ग्यिरोङ–त्रिशूली जलाधारमा गरिएको जोखिम मूल्यांकनले पनि बाढी जोखिमलाई सीमापार रूपमा अध्ययन गर्नुपर्ने देखाएको छ ।
त्यस्तै, तिब्बतमा हिमताल, हिमनदी र पहाडी भू–भागमा भइरहेको आकस्मिक परिवर्तनबारे नेपालले वास्तविक समयको सूचना कति छिटो पाउँछ ? भन्ने अर्को महत्त्वपूर्ण प्रश्न पनि बुधबारको घटनाले ब्युझाएको छ ।
माथिल्लो जलाधारमा हिमताल फुट्ने, हिमनदी भत्किने वा ठुलो पहिरो जाने घटना भएमा त्यसको सूचना नेपालका नदीतटीय बस्तीमा केही घण्टाभन्दा कम समयमा पुर्याउनुपर्ने हुन सक्छ । त्यसका लागि दुई देशबिच नियमित तथ्यांक आदानप्रदान, स्वचालित जलमापन केन्द्र, उपग्रह निगरानी र प्रभावकारी पूर्वसूचना प्रणाली महत्त्वपूर्ण हुन्छ ।
त्यसो त २०२५ मा यही सीमापार जलाधारमा भएको विनाशकारी बाढी र पछिल्ला वैज्ञानिक अध्ययनले तिब्बतमा हुने हिमताल तथा हिमनदीसम्बन्धी घटनाबाट नेपालमा तत्काल ठूलो असर पर्न सक्ने जोखिम स्पष्ट गरिसकेका छन् ।