रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान करिब ८:३० बजे अचानक आएको बाढीका कारण प्रभावित क्षेत्रमा रहेका ३८४ जना पर्यटक सम्पर्कविहीन भएका छन्।
नेपाल पर्यटन बोर्डले जारी गरेको दोस्रो अद्यावधिक विवरणअनुसार बेपत्ता हुनेहरूमा २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक रहेका छन्।
पर्यटन तथा ट्राभल कम्पनीहरूबाट प्राप्त प्रारम्भिक विवरणअनुसार विभिन्न १० वटा एजेन्सीमार्फत यात्रामा निस्किएका पर्यटकहरू बाढीपछि सम्पर्कमा आउन नसकेका हुन्। ट्रेकर्स सोसाइटीमार्फत गएका सबैभन्दा धेरै ९२ जना बेपत्ता छन्, जसमा ७७ विदेशी र १५ नेपाली छन्।
यसैगरी सम्राट टुर्स एन्ड ट्राभल्सका ५९ भारतीय र १२ नेपालीसहित ७१ जना, लिफ हलिडेका ४६ भारतीय र ९ नेपालीसहित ५५ जना तथा हिमालयन ग्लेसियरका ३७ गैरआवासीय भारतीय (एनआरआई) र १५ नेपालीसहित ५२ जना सम्पर्कविहीन अवस्थामा रहेका छन्।
त्यस्तै कैलाश जर्नीका ३१, फिसटेल टुर्स एन्ड ट्राभल्सका २७, अल्पाइन इको ट्रेकका २०, काठमाडौँ हलिडे टुर्स एन्ड ट्राभल्सका १७, रिचा टुर्स एन्ड ट्राभल्सका १२ र एक्सप्लोर भ्याकेसनका ७ जना पर्यटक सम्पर्कमा आउन सकेका छैनन्। बेपत्ता हुने विदेशी पर्यटकहरूमा भारत, अस्ट्रेलिया, नेदरल्यान्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिकाका नागरिक रहेको बोर्डले जनाएको छ। यद्यपि कैलाश जर्नी, ट्रेकर्स सोसाइटी र रिचा टुर्समार्फत गएका १११ जना विदेशी नागरिकको भने राष्ट्रियता खुल्न बाँकी छ।
बाढी प्रभावित क्षेत्रमा रहेका वा त्यहाँबाट यात्रा गरिरहेका पर्यटकको अवस्था पत्ता लगाउन सरोकारवालाहरू सक्रिय रूपमा लागिरहेका छन्। ‘हामी पर्यटक र यात्रुहरूको सुरक्षित अवस्था तथा उनीहरू रहेको स्थान पहिचान गर्न निरन्तर काम गरिरहेका छौँ,’ नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र पर्यटन क्षेत्रका सरोकारवालाहरूको संयुक्त प्रयासलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘प्राप्त जानकारीलाई ट्राभल एजेन्सी, गाइड, स्थानीय प्रशासन र सुरक्षा निकायको समन्वयमा रुजु गर्ने काम भइरहेको छ।’

आपत्कालीन सहयोग र समन्वयका लागि बोर्डले विभिन्न सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ। प्रभावितका आफन्त वा सरोकारवालाले टोल–फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ वा पर्यटक प्रहरीको मोबाइल नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न सक्नेछन्। साथै घटनाको बारेमा नजिकैको प्रहरी, सुरक्षा निकाय, स्थानीय प्रशासन, ट्राभल एजेन्सी वा टुर अपरेटरलाई तत्काल जानकारी गराउन सुझाइएको छ। पर्यटकहरूलाई नआत्तिन, संयमित रहन र आधिकारिक सुरक्षा निर्देशनहरूको पूर्ण रूपमा पालना गर्न समेत बोर्डले अनुरोध गरेको छ।