रसुवागढी हुँदै चीनबाट आएको बाढीले त्रिशूली नदी र यसको तटीय क्षेत्रमा असर गर्दा यति बेला पृथ्वी राजमार्ग अवरुद्ध छ । यसका कारण सो राजमार्ग भएर भित्रिने तथा बाहिरिने सबै सवारी साधन बन्द भएका छन् ।
उपत्यकालाई देशसँग जोड्न प्रमुख राजमार्ग बन्द हुँदा यति बेला हवाई जहाजको माग बढेको छ ।
पृथ्वी राजमार्ग अवरुद्ध हुँदा काठमाडौँबाट पोखराको यात्रा पूर्ण ठप्प भएको छ । यसका साथै पश्चिमी क्षेत्रमा जाने यातायात समेत प्रभावित भएका छन् ।
यो अवस्थामा हवाई यात्रा विकल्प बनेको छ । सडक अवरुद्ध हुँदा हवाई जहाजको भाडा बढेको भन्दै आलोचना भइरहेको छ । विपद्को समयमा एयरलाइन्स कम्पनीहरूले कालोबजारी गर्न लागेको आरोप समेत सामाजिक सञ्जालहरूमा लगाइएको छ ।
बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्ण भने अहिले विमानको भाडादर साधारण समयको जस्तै भएको बताउँछन् । अहिले काठमाडौँबाट पोखरासम्मको हवाई भाडा ५ हजार ७९९ रुपैयाँदेखि अधिकतम ८ हजार ५८३ रहेको र अहिले पनि त्यही कायम रहेको उनको भनाइ छ । अन्य गन्तव्यमा समेत भाडा नबढेको उनको दाबी छ ।
कुन रुटमा कति छ हवाई भाडा?काठमाडौँबाट उडान हुने गन्तव्यहरूमा पश्चिमतर्फ, पोखरा धनगढी, सुर्खेत, नेपालगञ्ज, भैरहवा तथा भरतपुर तथा पूर्वतर्फ सिमरा, जनकपुर, राजविराज तथा विराटनगरमा नियमित उडान हुँदै आएको छ ।
बुधबारको लागि काठमाडौँ पोखराको भाडा ८५६० रुपैयाँसम्म पुगेको छ । बिहीबारको लागि भने न्यूनतम ६ हजार रुपैयाँ हाराहारीसम्म भाडादर निर्धारण भएको छ ।
त्यस्तै, काठमाडौँबाट धनगढीको भाडा १० हजार ८०० रुपैयाँ तोकिएको छ । काठमाडौँ सुर्खेतको भाडा १२ हजार ४०० देखि १४ हजार ९०० रुपैयाँसम्म पुगेको छ ।
त्यस्तै, काठमाडौँ नेपालगञ्जमा बिहीबारका लागि ८ हजार ३०० देखि ८ हजार ५०० सम्म टिकट दर रहेको छ ।
काठमाडौँबाट भैरहवा ६ हजार ५०० रुपैयाँ, भरतपुरको लागि ६ हजार हाराहारीमा टिकट बिक्री भइरहेको छ ।
अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न गन्तव्यहरूको अधिकतम भाडा निर्धारण गर्ने गरेको छ । उक्त भाडाभन्दा धेरै नहुने गरी विमान कम्पनीहरूले भाडा निर्धारण गर्न पाउने व्यवस्था छ ।
अहिले हवाई यात्रुको माग बढ्दा भाडा समेत बढेको गुनासोबिच एयरलाइन्स कम्पनीहरूले भने सामान्य अवस्थाकै भाडादर निर्धारण गरेको दाबी गर्दै आएका छन् ।