चीनमा उद्धार टोली परिचालन : साढे १७ मिलियन डलर बराबरको राहत कोष घोषणा

आप्रवासन आप्रवासन

 

 नेपालमा आएको भीषण बाढीको असर चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्याइरोङ) काउन्टीमा पनि गम्भीर रूपमा परेको छ। 

चिनियाँ अधिकारीहरूले बुधबार साँझ दिएको जानकारी अनुसार बाढी र लेदोका कारण ३ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी मानिस बेपत्ता भएका छन्। 

चिनियाँ सञ्चारमाध्यम सीसीटीभीका अनुसार प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि खोजी कुकुर, जीवन खोजी उपकरण र इन्फ्लेटेबल बोटसहित करिब ६०० जना अग्निनियन्त्रकहरू परिचालन गरिएका छन्। चीन सरकारले तत्काल उद्धार र राहतका लागि करिब १७ मिलियन अमेरिकी डलर बराबरको प्राकृतिक विपद् राहत कोषसमेत विनियोजन गरेको छ।

बाढीसँगै आएको लेदोका कारण सडकहरू अवरुद्ध भएकाले उद्धार कार्यमा कठिनाइ भइरहेको छ। तिब्बतको सिगात्से सैन्य सब-कमान्डअन्तर्गत केरुङ सीमा सुरक्षा कम्पनीका अधिकारी चेन सि ले सिसिटिभीलाई दिएको जानकारी अनुसार सडक खुलाउन लोडर र एक्स्क्याभेटरहरू प्रयोग भइरहेका छन्। 

निरन्तरको वर्षा र पहिरोको जोखिमका कारण केही टोलीहरूलाई कमान्ड सेन्टरमै तयारी अवस्थामा राखिएको छ। चेनले भने, ‘हामी वरिपरिका पहाडी भीरहरू जुनसुकै बेला खस्न सक्ने र फेरि लेदो बहने जोखिम रहेको छ ।’

प्रत्यक्षदर्शीका अनुसार केही स्थानमा १.५ मिटर (करिब ५ फिट) भन्दा बाक्लो लेदो जमेको छ। बुधबार बिहान आएको लेदोले केरुङ सीमा बन्दरगाहलाई पूर्ण रूपमा ढाकेको छ। चेनका अनुसार अहिलेसम्म बन्दरगाहभित्र रहेका मानिसहरूसँग सम्पर्क स्थापित हुन सकेको छैन। 

उद्धार टोलीहरू साँझ ५ बजे ग्याइरोङ काउन्टीको एउटा बस्तीमा पुग्न सफल भएका छन् र अन्य प्रभावित क्षेत्रमा पुग्ने प्रयास जारी छ। केरुङ काउन्टीमा २० हजारभन्दा कम स्थायी बासिन्दा रहेका भए पनि निर्माण क्षेत्रमा खटिएका कामदार तथा अन्य प्रवासी मजदुरहरूको संख्या यसमा समावेश नहुन सक्ने जनाइएको छ।