खाडीमा गर्मीको प्रभाव

खाडीका ६ देशमा घाममा काम गर्न रोक, नेपालीलाई राहत

आप्रवासन आप्रवासन

अत्याधिक गर्मीका कारण खाडीका ६ देशहरूले दिउँसोको समयमा बाहिर काम गर्न प्रतिबन्ध लगाएका छन् ।

अत्यधिक गर्मीबाट स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै युएई, साउदी अरब, कतार, कुवेत, ओमान र बहराइनले दिउँसोको समयमा काम गर्न र गराउन रोक लगाएका हुन।

जसमध्ये कतार,  कुवेत र ओमानले जुन १ देखि लागु हुने गरी प्रतिबन्ध लगाएका छन् । युएई र साउदीमा भने जून १५ र बहराइनमा जुलाई १५ बाट यस्तो प्रतिबन्ध लाग्ने छ ।

कतारले सेप्टेम्बर १५ सम्म बिहान १० बजेदेखि दिउसो साढे ३ बजेसम्म घाममा काम गर्न प्रतिबन्ध लगाएको छ । कुवेतले अगस्ट ३१ सम्म बिहान ११ बजेदेखि दिउसो ४ बजेसम्म बाहिर काम गर्न  गर्न नपाइने व्यवस्था गरेको छ ।

ओमानले अगस्ट ३१ सम्म मध्यान्ह साढे १२ देखि दिउसो साढे ३ बजेसम्म बाहिरी काममा लगाउन नपाइने व्यवस्था गरेको छ । युएईले सेप्टेम्बर २५ सम्म मध्यान्ह साढे १२ देखि ३ बजेसम्म बाहिर काममा गर्न रोक लगाएको छ ।

साउदीमा  सेप्टेम्बर १५ सम्म दिउँसो १२ बजेदेखि ३ बजेसम्म बाहिर काम गर्न नपाइने व्यवस्था गरेको छ । बहराइनमा अगस्ट ३१ सम्म अपराह्न १२ देखि ४ बजेसम्म घाममा काम लगाउन नपाइने जनाएको छ । 

तोकिएको अवधिमा काममा लगाइएको पाइए रोजगारदाता कम्पनीहरूमाथि भारी जरिवाना हुने ती देशहरूको चेतावनी छ ।  गर्मी महिनामा यी देशहरूमा तापक्रम ५० डिग्री सेल्सियससम्म पुग्ने गर्छ ।

जसले गर्दा बाहिर घाममा काम गर्ने श्रमिकको स्वास्थ्यमा गम्भीर असर देखिने गरेको छ  । यस निर्णयबाट खाडी मुलुकमा कार्यरत लाखौँ नेपाली श्रमिकलाई ठुलो राहत पुग्ने देखिएको छ ।