नर्वेका राजा हाराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन

आप्रवासन आप्रवासन

 

 नर्वेका राजा हाराल्ड पाँचौँको ८९ वर्षको उमेरमा निधन भएको छ । ३५ वर्षसम्म नर्वेको राजगद्दी सम्हालेका हाराल्डको शुक्रबार बिहान ६ बजेर ३५ मिनेटपछि निधन भएको नर्वेली राजपरिवारले जनाएको छ । राजा हाराल्डको निधनपछि उनका छोरा हाकोनले नर्वेको राजगद्दी सम्हाल्नेछन् । हाराल्डकी पत्नी रानी सोन्या, दुई सन्तान र पाँच नातिनातिना छन् ।

हाराल्ड सन् १९९१ मा ५३ वर्षको उमेरमा नर्वेका राजा बनेका थिए । उनले आधुनिक नर्वेली राजसंस्थाको प्रतिनिधित्व गर्ने राजाका रूपमा लामो समयसम्म लोकप्रियता हासिल गरेका थिए । राजा बनेपछि हाराल्ड र उनकी पत्नी सोन्याले आफ्नो इच्छाअनुसार परम्परागत राज्याभिषेकको सट्टा अभिषेक समारोह आयोजना गरेका थिए । सन् १९९१ जुन २३ मा मध्य नर्वेको ट्रोनहाइमस्थित निडारोस क्याथेड्रलमा भएको समारोहमा मध्ययुगीन समयदेखि चलिआएका विभिन्न परम्परा समावेश थिए ।

हाराल्डको जन्म सन् १९३७ फेब्रुअरी २१ मा भएको थियो । उनी तीन सन्तानमध्ये कान्छा तथा एकमात्र छोरा थिए । त्यतिबेला नर्वेको संविधानअनुसार पुरुष उत्तराधिकारीले मात्र राजगद्दी प्राप्त गर्न सक्ने व्यवस्था थियो । सन् १९४० मा जर्मनीले नर्वेमा आक्रमण गर्दा हाराल्ड तीन वर्षका मात्र थिए । जर्मन सेनाको आक्रमणपछि उनको परिवार तथा नर्वेली सरकारका सदस्यहरू छिमेकी स्विडेनतर्फ पलायन भएका थिए ।

केही महिनापछि हाराल्डलाई उनकी आमा र दुई दिदीसँगै अमेरिकाको वासिङ्टन डीसी पठाइएको थियो । उनका हजुरबुवा राजा हाकोन सातौँ र पिता ओलाभ भने जर्मन कब्जा अन्त्य नभएसम्म लन्डनमा बसेका थिए । दोस्रो विश्वयुद्धमा जर्मनीले आत्मसमर्पण गरेपछि सन् १९४५ जुन ७ मा आठ वर्षीय हाराल्ड आफ्नो राजपरिवारसँगै नर्वे फर्किएका थिए। राजधानी ओस्लोका सडकमा हजारौँ मानिसले उनीहरूको स्वागत गरेका थिए ।

राजपरिवार र नर्वेली जनताबीचको सम्बन्ध बलियो बनाउने तथा राजसंस्थालाई आधुनिक बनाउने उद्देश्यले हाराल्डलाई सुरुवाती शिक्षा सरकारी विद्यालयमा दिइएको थियो । उनले ओस्लो क्याथेड्रल स्कुलबाट माध्यमिक शिक्षा पूरा गरे । त्यसपछि नर्वेली घोडचढी अधिकृत प्रशिक्षण विद्यालयमा अनिवार्य एक वर्षे सैन्य सेवा पूरा गरे । पछि उनले बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा सामाजिक विज्ञान, इतिहास र अर्थशास्त्र अध्ययन गरे ।