नेटोमाथि आक्रमण नगर्न रुसलाई अमेरिकाको चेतावनी

आप्रवासन आप्रवासन

 

नेटो सदस्य राष्ट्रको भूभागमा आक्रमण नगर्न अमेरिकाले रुसलाई चेतावनी दिएको छ। अमेरिकी केन्द्रीय गुप्तचर निकाय (सीआईए) का निर्देशक जोन र्‍याट्क्लिफले यसै साता रुसको मस्को भ्रमण गरेका थिए। भ्रमणका क्रममा र्‍याट्क्लिफले रुसलाई यस्तो चेतावनी दिएको बताइएको छ।

अमेरिकी सञ्चारमाध्यम सीएनएनसँग कुराकानी गरेका विषयबारे जानकार दुई व्यक्तिका अनुसार र्‍याट्क्लिफले मस्को भ्रमणका क्रममा रुसी अधिकारीहरूसँग विभिन्न विषयमा छलफल गरेका थिए। उनले रुसलाई इरानलाई दिँदै आएको आर्थिक तथा सैन्य सहयोग रोक्नसमेत आग्रह गरेको बताइएको छ।

अमेरिकी प्रशासनले इरानमाथि आर्थिक दबाब बढाइरहेका बेला र्‍याट्क्लिफको मस्को भ्रमण भएको हो। उनको भ्रमणबारे अमेरिकी सरकारले सार्वजनिक रूपमा घोषणा गरेको थिएन। अमेरिका तथा युरोपेली अधिकारीहरूबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी वर्षहरूमा नेटोको प्रतिबद्धताको परीक्षण गर्न सक्ने चिन्ता बढ्दै गएको छ। विशेषगरी युक्रेन युद्ध जारी रहेका बेला रुसले नेटो सदस्य राष्ट्रमध्ये कुनै एकविरुद्ध सीमित सैन्य कारबाही गर्न सक्ने आशंका गरिएको छ।

र्‍याट्क्लिफको भ्रमण केही महिनायता ट्रम्प प्रशासनका उच्चपदस्थ अधिकारीको मस्कोको पहिलो ज्ञात भ्रमण भएको बताइएको छ। यसअघि सन् २०२१ मा तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनमा सीआईएका निर्देशक विलियम बन्र्स मस्को पुगेका थिए। त्यतिबेला उनले पुटिनलाई युक्रेनमाथि पूर्णस्तरीय आक्रमण नगर्न चेतावनी दिएका थिए। त्यसको करिब तीन महिनापछि रुसले युक्रेनमाथि आक्रमण गरेको थियो।

तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले र्‍याट्क्लिफले पुटिनलाई नेटोमाथि आक्रमण नगर्न चेतावनी दिएको विषयलाई स्पष्ट रूपमा पुष्टि गरेका छैनन्। उनले रुसले नेटो सदस्य राष्ट्रमाथि आक्रमण नगर्ने आफू विश्वस्त रहेको बताएका छन्। ट्रम्पले र्‍याट्क्लिफको भ्रमणलाई सामान्य प्रकृतिको भ्रमणका रूपमा व्याख्या गरेका छन्। उनले आफू युक्रेन युद्ध अन्त्य गर्न चाहेको पनि बताएका छन्।

अमेरिकी तथा पश्चिमी गुप्तचर निकायका पछिल्ला मूल्यांकनअनुसार पुटिनले आगामी केही वर्षमा नेटोको एकताको परीक्षण गर्न सीमित आक्रमण गर्न सक्ने सम्भावना रहेको बताइएको छ।

सम्भावित जोखिममा साइबर आक्रमणदेखि कुनै नेटो सदस्य राष्ट्रमा सीमित सैन्य घुसपैठसम्मका घटना हुन सक्ने आकलन गरिएको छ। यस्तो कदमले नेटोको सामूहिक सुरक्षा प्रतिबद्धता अर्थात् आर्टिकल ५ लागू हुने अवस्थाको परीक्षण गर्न सक्ने अधिकारीहरूको भनाइ छ।

विशेषगरी एस्टोनिया, लाटभिया, लिथुआनिया र पोल्यान्डलाई सम्भावित जोखिम भएका क्षेत्रका रूपमा हेरिएको छ।

पछिल्ला वर्षहरूमा रुसबाट नेटो सदस्य राष्ट्रहरूको हवाई क्षेत्र तथा भूभागमा अतिक्रमणका घटनासमेत भएका छन्। गत सेप्टेम्बरमा युक्रेनमाथि रुसी आक्रमणका क्रममा रुसी ड्रोन पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गरेपछि नेटोका लडाकु विमानले केही ड्रोन खसालेका थिए।

त्यस्तै, मे महिनामा युक्रेनी बन्दरगाहमाथि रुसी आक्रमण भइरहेका बेला विस्फोटक बोकेको ड्रोन रोमानियाको एउटा आवासीय भवनमा ठोक्किँदा दुई जना घाइते भएका थिए।