अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलाका केही प्रमुख तेल क्षेत्रमा दीर्घकालीन पहुँच सुनिश्चित गर्ने सम्झौता अघि बढाएको छ । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्ससँग कुरा गरेका स्रोतहरूका अनुसार उक्त सम्झौता छिट्टै सार्वजनिक तथा हस्ताक्षर हुन सक्ने सम्भावना छ । सम्झौता कार्यान्वयन भएमा अमेरिकी कम्पनीहरूले भेनेजुएलाका छनोट गरिएका तेल क्षेत्र विकास गर्ने र त्यहाँबाट उत्पादित कच्चा तेलको आपूर्ति अमेरिकाका लागि सुनिश्चित गर्ने व्यवस्था हुनेछ ।
रोयटर्सका अनुसार वार्तामा रहेका तेल क्षेत्रको सूचीमा कुल १७ वटा क्षेत्र छन् । तीमध्ये केही भेनेजुएलाको विशाल ओरिनोको तेल क्षेत्रमा रहेका नयाँ तथा कम विकसित क्षेत्र छन् भने केही लेक माराकाइबोका पुराना उत्पादन क्षेत्र हुन् । तीमध्ये केही क्षेत्र हाल चिनियाँ कम्पनीले सञ्चालन गरिरहेको छ । सम्झौताका लागि ‘लिज’ अर्थात् निश्चित अवधिका लागि तेल क्षेत्र प्रयोग तथा विकास गर्न दिने कानुनी मोडल अपनाउने विषयमा छलफल भइरहेको स्रोतहरूले बताएका छन् । त्यसपछि प्रत्येक तेल क्षेत्र अमेरिकी तेल उत्पादक कम्पनीलाई प्रतिस्पर्धात्मक प्रक्रिया वा टेन्डरमार्फत दिइने सम्भावना छ ।
तर प्रस्तावित सम्झौताले भेनेजुएलाको विद्यमान कानुन र संविधानसँग सम्बन्धित कानुनी प्रश्न उठाउन सक्ने विशेषज्ञहरूले बताएका छन् । भेनेजुएलाको संविधानले तेल उद्योगका मुख्य गतिविधिमा राज्यको अधिकार सुरक्षित गरेको छ । हालै सुधार गरिएको कानुनले भने संयुक्त लगानी तथा उत्पादन बाँडफाँट सम्झौतामार्फत तेल क्षेत्र सञ्चालन गर्ने बाटो खोलेको छ ।
भेनेजुएलासँग विश्वकै सबैभन्दा ठुलो प्रमाणित कच्चा तेल भण्डार रहेको छ । तर लामो समयदेखिको आर्थिक संकट, लगानीको अभाव, भ्रष्टाचार र पूर्वाधारको कमजोर अवस्थाका कारण त्यहाँको तेल उत्पादन क्षमतामा ठुलो गिरावट आएको छ । हाल भेनेजुएलाले दैनिक करिब १२ लाख ५० हजार ब्यारेल कच्चा तेल उत्पादन गरिरहेको बताइएको छ । पूर्वराष्ट्रपति निकोलस मादुरोलाई जनवरीमा अमेरिकी नियन्त्रणमा लिएर सत्ताबाट हटाएपछि वासिङ्टनले भेनेजुएलाको तेल उद्योगमा अमेरिकी लगानी बढाउने तथा अमेरिकी रिफाइनरीका लागि स्थिर कच्चा तेल आपूर्ति सुनिश्चित गर्ने प्रयास तीव्र बनाएको छ ।
अमेरिकामा पेट्रोलियम पदार्थको मूल्य बढिरहेका बेला आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनअघि ट्रम्प प्रशासनमाथि मूल्य नियन्त्रणको दबाब पनि बढेको छ । भेनेजुएलाबाट सस्तो तथा थप कच्चा तेल आपूर्ति हुन सके अमेरिकी इन्धन मूल्य घटाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । यसैबिच, भेनेजुएलाले अमेरिकी सम्बन्ध बलियो बनाउँदै गर्दा तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेकबाट बाहिरिने विषयमा पनि विचार गरिरहेको ब्लुमबर्गले जनाएको छ । भेनेजुएला सन् १९६० मा ओपेकको संस्थापक सदस्य बनेको थियो । प्रस्तावित सम्झौताको विस्तृत विवरण अझै सार्वजनिक भएको छैन । सम्झौता कार्यान्वयन भएमा भेनेजुएलाको तेल उद्योगमा अमेरिकी कम्पनीहरूको प्रभाव उल्लेख्य रूपमा बढ्नेछ ।