आइसल्यान्डका जनताले गरे ईयूमा संलग्न नहुने पक्षमा मतदान

आप्रवासन आप्रवासन

 

 आइसल्यान्डका जनताले देशलाई युरोपेली संघ (ईयूमा)मा संलग्न नगराउने पक्षमा मतदान गरेका छन् । सरकारी प्रसारक आरयूभीले आइतबार सार्वजनिक गरेको प्रारम्भिक विवरणअनुसार मतदाताले सरकारले ईयू सदस्यताका लागि वार्ता पुनः सुरु गर्न गरेको प्रयास अस्वीकार गरेका छन् । यस निर्णयसँगै आइसल्यान्डका माछा मार्ने समुद्री क्षेत्रहरू निकै महत्वपूर्ण भएकाले तिनलाई जोखिममा पार्नु हुँदैन भन्ने धारणा राख्ने पक्ष विजयी भएको छ ।

मतदानको यस नतिजाले ईयूको राजनीतिक नेतृत्वलाई निराश पार्ने विश्लेषण गरिएको छ । ईयूका केही अधिकारीहरूले आइसल्यान्डलाई समूहको विस्तारप्रति शंका कम गर्न सहयोग गर्ने तुलनात्मक रूपमा कम जोखिम भएको उदाहरणका रूपमा हेरेका थिए । आर्कटिक क्षेत्रमा सुरक्षा चासो बढिरहेको बेला आइसल्यान्ड ईयूमा संलग्न हुँदा युरोपेली संघको रणनीतिक शक्ति पनि बलियो हुने उनीहरूको अपेक्षा थियो ।

आइसल्यान्ड सरकारले ईयू सदस्यतासम्बन्धी आफ्नो योजनालाई ‘अहिले वा कहिल्यै होइन’ भन्ने अवसरका रूपमा प्रस्तुत गरेको थियो । प्रधानमन्त्री क्रिस्ट्रुन फ्रोस्टाडोटिरले अगस्टमा मतदातालाई ‘नहुने’ पक्षमा मतदान गरेमा ईयूको सदस्यताबारे भइरहेको सम्पूर्ण बहसलाई किनारा लगाइने बताएकी थिइन् । ईयूमा संलग्न हुनुपर्छ भन्ने पक्षका अभियानकर्ताहरूले भने ईयूको सदस्यताले आइसल्यान्डमा रहेको उच्च ब्याजदर कम गर्न सहयोग गर्न सक्ने बताएका थिए ।

युद्धका कारण अस्थिर बनेको विश्वमा ईयू सदस्यताले आइसल्यान्डलाई थप सुरक्षा पनि दिने तर्क उनीहरूले गरेका थिए । विशेषगरी युक्रेनमा जारी युद्ध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को आर्कटिक टापु ग्रीनल्यान्डलाई आफ्नो नियन्त्रणमा ल्याउने विषयमा दिएको अभिव्यक्तिले यस्तो सुरक्षाको आवश्यकता बढेको उनीहरूको भनाइ थियो । तर ईयूको सदस्यताको विरोध गर्ने अभियानकर्ताहरूले युरोपेली संघमा सामेल हुँदा आइसल्यान्डको राष्ट्रिय सार्वभौमिकता र माछा मार्ने समुद्री क्षेत्रहरूमा खतरा पुग्ने बताएका थिए ।