इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले खाडी क्षेत्रका मुस्लिम राष्ट्रका शासकलाई एकजुट भएर आफूहरूले सामना गरिरहेको ‘वास्तविक शत्रु’ विरुद्ध उभिन आग्रह गरेका छन् । इस्लामिक एकता सप्ताहका अवसरमा खामेनीले आफ्नो टेलिग्राम अकाउन्टमार्फत लिखित सन्देश जारी गर्दै यस्तो सन्देश दिएका हुन् ।
मुस्लिम राष्ट्रबिचको विभाजनले उनीहरूका विरोधीलाई फाइदा पुग्ने सन्देशमा उनले बताएका छन् । मुस्लिम देशबिच एकता, विभिन्न क्षेत्रमा सहकार्य र पारस्परिक सुरक्षाका लागि सहयोग आवश्यक रहेकोमा पनि उनले जोड दिएका छन् ।
मुस्लिमहरूबिच जानाजान वा अनजानमा विभाजन सिर्जना गर्ने जोसुकैले इस्लामका शत्रुलाई सहयोग पुर्याइरहेको पनि खामेनीले बताएका छन् । मुस्लिम राष्ट्र एकताबद्ध भएको भए प्यालेस्टिनीहरू अहिलेको जस्तो ‘असहाय’ अवस्थामा हुने थिए कि थिएनन् भन्ने प्रश्न समेत उनले गरेका छन् ।
उनले विशेष गरी खाडीका अरब शासकलाई लक्षित गर्दै इस्लामको झन्डामुनि खाडीका जनता र सरकार एकताबद्ध भएको भए ‘पहिचान विहीन दुस्साहसीहरू’ ले उनीहरूको भूमि र सम्पत्तिमाथि आँखा लगाउने हिम्मत गर्ने थिए कि थिएनन् भनेर प्रश्न गरेका छन् ।
‘मुस्लिम देशका शासकहरू, विशेष गरी पश्चिम एसिया र खाडी क्षेत्रका देशलाई मेरो जोडदार र बारम्बारको सुझाव छ—आफ्नो वास्तविक शत्रुलाई पहिचान गर्नुहोस्, उसको योजना बुझ्नुहोस् र त्यसको सामना गर्नुहोस्,’ खामेनीले भनेका छन् । अमेरिका–इजरायलको हवाई आक्रमणमा परी आफ्ना पिता तथा यसअघिका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको मृत्यु भएपछि मोज्तबा खामेनी सर्वोच्च नेता बनेका हुन् ।
करिब ६ महिनाअघि भएको उक्त आक्रमणमा घाइते भएपछि उनी सार्वजनिक रूपमा देखिएका छैनन् । खामेनीको पछिल्लो आह्वान शुक्रबार इरानी जनतालाई दिएको उनको सन्देशसँग पनि मेल खान्छ । त्यसमा उनले सामाजिक एकतामा असर पार्ने गतिविधि रोक्न निर्देशन दिँदै राष्ट्रिय तथा जनताको मनोबल कमजोर पार्ने अभिव्यक्तिबाट बच्न अधिकारीहरूलाई आग्रह गरेका थिए ।