अमेरिकाको ग्रान्ड क्यानियनमा आकस्मिक बाढी : १५ जना बेपत्ता, ६२ जनाको सकुशल उद्धार

आप्रवासन आप्रवासन

 

अमेरिकाको एरिजोना राज्यस्थित ग्रान्ड क्यानियनमा आएको आकस्मिक बाढीपछि कम्तीमा १५ जना मानिसहरू बेपत्ता भएको हुन सक्ने आशङ्का गरिएको छ।

नेशनल पार्क सर्भिसका अनुसार शनिबार दिउँसो ब्राइट एन्जेल क्यानियन र फ्यान्टम र्‍यान्च क्षेत्रमा आएको बाढीका कारण आइतबार बिहानसम्म ६२ जनाको सकुशल उद्धार गरिएको छ। बाढीले ठूला-ठूला चट्टान, धातुका संरचना र अन्य भग्नावशेषहरू पार्क भई बग्ने कोलोराडो नदीमा पुर्‍याएको छ।

नेशनल पार्क सर्भिसले एक विज्ञप्ति जारी गर्दै भीषण बाढीपछि बेपत्ता वा सम्पर्कविहीन भएका करिब १५ जना व्यक्तिका बारेमा जानकारी उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरेको छ। कोलोराडो नदीमा मिसिने ब्राइट एन्जेल क्रिकमा आएको बाढीले त्यहाँ रहेका पैदल पुलहरू बगाएको छ। साथै खोलाको चौडाइ बढाएर र नदीमा नयाँ तीव्र बहाव सिर्जना गरेर सो क्षेत्रको प्राकृतिक भू-बनोट नै परिमार्जन गरिदिएको छ।

बाढीका कारण पार्क अधिकारीहरूले क्षति मापन गरिरहेकाले ब्राइट एन्जेल क्याम्पग्राउन्ड, फ्यान्टम र्यान्च र नर्थ काइबाब ट्रेलका केही भागलगायतका लोकप्रिय पर्यटकीय स्थलहरू आइतबार पनि बन्द रहे। कोलोराडो नदीमा गरिने र्याफ्टिङ यात्राहरू पनि हालका लागि स्थगित गरिएको छ।

अन्य चिकित्सकहरूको टोली र एक पार्क रेन्जरसँग ब्राइट एन्जेल क्यानियनको साँघुरो बाटोमा हाइकिङ गरिरहेका पार्थ देसाईले वर्षा सुरु भएपछिको अवस्थाबारे बताएका छन्। उनले भने, ‘हामीले खोलामा बाढी आएको र एकाएक झरनाहरू फुटेको देख्यौँ। जताततै ठूला चट्टान, हिलो र पहिरो खसिरहेको थियो।’

युटा स्टेट युनिभर्सिटीको सेन्टर फर कोलोराडो रिभर स्टडीजका निर्देशक ज्याक स्मिटले यो घटनाले ग्रान्ड क्यानियन कति गतिशील र सक्रिय भू-भाग हो भन्ने कुराको स्मरण गराएको बताएका छन्।

ग्रान्ड क्यानियन नेशनल पार्क सर्भिसले एरिजोना सार्वजनिक सुरक्षा विभागसँगको समन्वयमा काम गरिरहेको र आइतबार थप उद्धार कार्य सञ्चालन गर्ने योजना बनाएको जनाएको छ। हालसम्म कोही घाइते भएको खबर प्राप्त भएको छैन। उक्त क्षेत्रमा सोमबारसम्म थप वर्षा र चट्याङ्गसहितको आँधीबेहरी आउन सक्ने मौसम पूर्वानुमान गरिएको छ।