अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रमुख ऊर्जा केन्द्र खार्ग टापु ध्वस्त पारिँदै गरेको दाबी गरेका छन् । आइतबार सामाजिक सञ्जालमा एक लाइनको सन्देशसँगै एआईबाट तयार गरिएको भिडियोको साथमा यस्तो दाबी गरेका थिए । तर आक्रमणबारे उनले थप विवरण भने दिएका छैनन् ।
अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार खार्ग टापुमा आक्रमण भइरहेको पुष्टि गर्ने अन्य कुनै प्रमाण तत्काल उपलब्ध थिएन । ह्वाइट हाउस र अमेरिकी रक्षा मन्त्रालयले पनि यसबारे रोयटर्सको प्रश्नमा तत्काल प्रतिक्रिया दिएका छैनन् ।
ट्रम्पले सार्वजनिक गरेको विस्फोटका दृश्य भएको भिडियो एआईबाट कृत्रिम रूपमा तयार गरिएको हुनसक्ने रोयटर्सको भनाइ छ । युद्ध सुरु हुनुअघि इरानको करिब ९० प्रतिशत तेल निर्यात खार्ग टापुबाट हुने गरेको थियो । त्यसैले टापुमाथि आक्रमण भएमा इरानको ऊर्जा व्यापारमा ठूलो अवरोध पुग्नुका साथै अर्थतन्त्रमा समेत गम्भीर दबाब पर्न सक्ने बताइएको छ ।
यसअघि अमेरिकाले इरानको लाराक टापुमा रकेट प्रक्षेपण केन्द्रलाई लक्षित गरी आक्रमण गरेको थियो । त्यसको जवाफमा इरानले जोर्डनमा रहेका दुई अमेरिकी सैन्य आधारलाई लक्षित गर्दै आक्रमण गरेको इरानी सञ्चारमाध्यमले जनाएका छन् । लाराक टापु खार्गबाट करिब ६६० किलोमिटर पूर्वमा पर्छ ।
अमेरिकी सेनाले जुलाईको अन्त्यपछि पहिलो पटक आइतबार इरानमाथि सैन्य कारबाही गरेको छ । अमेरिकी अधिकारीका अनुसार लाराक टापुमा रहेका दुई इरानी प्रक्षेपण प्रणालीलाई लक्षित गरिएको थियो । अमेरिकाले इरानी रिभोलुसनरी गाड्र्सका सेनाले स्ट्रेट अफ होर्मुजमा समुद्री बारुद राखेर रकेट प्रहार गर्ने तयारी गरिरहेको देखिएपछि सीमित र सटीक कारबाही गरिएको जनाएको छ ।
त्यसको प्रतिक्रियामा इरानले जोर्डनमा रहेका दुई अमेरिकी सैन्य आधारलाई लक्षित गर्दै ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो । जोर्डनका सेनाका अनुसार उसको हवाई क्षेत्रमा प्रवेश गरेका आठ क्षेप्यास्त्रलाई प्रतिरक्षा प्रणालीले रोकेको थियो । इरानी रिभोलुसनरी गाड्र्सले आक्रमणमा केही सैनिक र सर्वसाधारण मारिएको तथा घाइते भएको दाबी गर्दै थप जवाफी कारबाही गर्ने चेतावनी दिएको छ ।