भेनेजुएलाको तेलले आफ्नो रणनीतिक पेट्रोलियम भण्डार भर्दैछ अमेरिका

आप्रवासन आप्रवासन

 

 इरान युद्धका कारण रित्तिदै गएको आफ्नो रणनीतिक पेट्रोलियम भण्डार पुनःभर्न अमेरिकाले भेनेजुएली तेल प्रयोग गर्ने भएको छ । भेनेजुएलासँग हालै भएको सम्झौताबाट प्राप्त हुने तेल यस्ता भन्डार भर्न प्रयोग गरिने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । हालैका वर्षमा विश्वव्यापी आपूर्ति अवरोध र इन्धनको उच्च मूल्यका कारण अमेरिकाले यस्ता भन्डारबाट ठूलो मात्रामा तेल झिकेर बजारमा ल्याएको थियो ।

ट्रम्पले आइतबार सामाजिक सञ्जालमार्फत रणनीतिक पेट्रोलियम भण्डार पुनःभर्ने प्रक्रिया छिट्टै सुरु हुने बताएका छन् । उनले भेनेजुएलाबाट आउने तेललाई अमेरिकी जनताका लागि भेनेजुएलाको उपहार भनेका छन् । तर भेनेजुएलासँग भएको सम्झौताबाट कति छिटो रणनीतिक भण्डारका लागि तेल उपलब्ध हुन्छ र यसले अमेरिकी उपभोक्तालाई तत्काल कति फाइदा पुर्‍याउँछ भन्ने अझै स्पष्ट छैन ।

शुक्रबार ट्रम्पले घोषणा गरेको सम्झौताको उद्देश्य संकटग्रस्त भेनेजुएलाको तेल उद्योगलाई पुनर्जीवित गर्नु हो । तर तेल उत्पादन उल्लेख्य रूपमा बढाउन ठूलो लगानी र पूर्वाधार निर्माण आवश्यक पर्ने भएकाले सम्झौताको प्रभाव तत्काल देखिन नसक्ने बताइएको छ । अमेरिकाको रणनीतिक पेट्रोलियम भण्डारमा अगस्ट २१ सम्म करिब २९ करोड ब्यारेल तेल मात्रै रहेको थियो । यो भनेको गएको ४४ वर्षयताकै सबैभन्दा न्यून स्तरनजिक हो ।

रुसले युक्रेनमा आक्रमण गरेपछि उत्पन्न विश्वव्यापी आपूर्ति अवरोध तथा इरानसँगको द्वन्द्वलगायतका कारण इन्धन आपूर्तिमा परेको दबाब सामना गर्न जो बाइडेन र ट्रम्प दुवै प्रशासनको कार्यकालमा अमेरिकाले रणनीतिक भण्डारबाट ठूलो मात्रामा तेल निकालेको थियो ।