इरानले गर्‍यो जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा क्षेप्यास्त्र आक्रमण

आप्रवासन आप्रवासन

 

इरानले जोर्डनस्थित दुई अमेरिकी सैन्य अड्डालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको छ । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी) का अनुसार आइतबार गरिएको संयुक्त क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा जोर्डनका किङ हुसेन र अल अजराक सैन्य अड्डालाई निशाना बनाइएको छ । उक्त कारबाहीलाई आईआरजीसीले आक्रमणकारीलाई सजाय भनेको छ ।

आक्रमणबाट सैन्य प्राविधिक तथा मर्मत सम्भार पूर्वाधार र लडाकु विमान तैनाथ गर्ने क्षेत्रहरूमा ठुलो क्षति पुगेको दाबी आईआरजीसीले गरेको छ । जोर्डनले भने आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेका आठ वटा क्षेप्यास्त्रलाई प्रतिरक्षा प्रणालीमार्फत खसालेको जनाएको छ ।

जोर्डनको सेनाका अनुसार उक्त घटनामा दुवै अमेरिकी सैन्य अड्डामा कुनै मानवीय क्षति भएको जानकारी प्राप्त भएको छैन । लारक द्वीपमा आइतबार अमेरिकाले गरेको आक्रमणपछि इरानले त्यसको बदला लिने चेतावनी दिएको थियो । त्यसपछि भएको पछिल्लो सैन्य झडप जुलाईको अन्त्ययताकै पहिलो ठुलो हिंसात्मक घटना भएको जनाइएको छ ।   

यस घटनाले इरान र अमेरिकाबिच पुनः सैन्य टकराब चर्किने जोखिम बढाएको छ । अमेरिकाले इरानमाथि बमबारीभन्दा आर्थिक दबाबलाई प्राथमिकता दिन थालेका बेला दुई पक्षबिच पुनः सैन्य हमला भएको हो । अमेरिकी सेनाले भने लारक द्वीपमा गरिएको कारबाहीलाई आक्रामक हमला मान्न अस्वीकार गरेको छ ।

अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार स्टेट अफ होर्मुजमा इरानी सेनाले बारुदी सुरुङ बिछ्याउन नदिन सीमित र लक्षित कारबाही गरिएको हो । अमेरिकाले पछिल्लो आक्रमणका लागि इरानलाई जिम्मेवार ठहराएको छ ।

यसैबिच इरानी समाचार संस्था फार्सले अमेरिकी–इजरायली शत्रुको आक्रमणमा इरानी सैनिक मारिएको तथा घाइते भएको जनाएको छ । यद्यपि, त्यसमा कति सैनिक मारिए वा घाइते भए भन्ने विवरण भने सार्वजनिक गरिएको छैन ।

पछिल्ला केही सातादेखि अमेरिका र इरानबिच स्टेट अफ होर्मुजलाई लिएर समेत तनाव बढेको छ । अमेरिकाले आफ्नो सैन्य सुरक्षामा उक्त जलमार्ग हुँदै लाखौँ ब्यारेल तेल पार भइरहेको दाबी गर्दै आएको छ भने इरानले स्टेट बन्द रहेको बताउँदै आएको छ ।