मे महिनामा क्यालिफोर्नियाको सान डिएगोस्थित मस्जिदमा तीन जनाको मृत्यु हुने गरी भएको गोलीबारीको घटनामा घटनामा १७ वर्षीया किशोरीविरुद्ध अभियोग दर्ता गरिएको छ । उत्तर क्यारोलिनाको ग्रान्ड जुरीले सोमबार घटनामा सहयोग गरेको आरोपमा सारा लिन्डसे सान्टियागोविरुद्ध हत्याको तीनवटा र आपराधिक षड्यन्त्र रचेको एउटा अभियोग लगाइएको हो । सान्टियागोलाई गत साता पक्राउ गरिएको थियो ।
अधिकारीहरूका अनुसार सान्टियागोले आक्रमणको प्रत्यक्ष प्रसारण रेकर्ड गरी सार्वजनिक रूपमा फैलाउन सहयोग गरेकी थिइन् । आक्रमणअघि नै उनले घटनाको लाइभ प्रसारण गर्ने, त्यसको रेकर्डिङ सार्वजनिक गर्ने र आक्रमणकारीहरूले तयार पारेको घोषणापत्र सार्वजनिक गर्ने सहमति जनाएको अभियोजन पक्षको दाबी छ ।राज्यको कानुनअनुसार १७ वर्षीया सान्टियागोलाई वयस्कका रूपमा मुद्दा चलाउन सकिने उत्तर क्यारोलिनाका फोर्सिथ काउन्टीका जिल्ला न्यायाधिवक्ता जिम ओ’निलले बताएका छन् । दोषी ठहर भए उनलाई बिना प्यारोल आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ । संघीय कानुनअन्तर्गत मुद्दा चलेको भए उनलाई भने तीनदेखि चार वर्षसम्मको सजाय हुन सक्थ्यो ।
मे १८ मा मस्जिदमा भएको आक्रमणमा ५१ वर्षीय सुरक्षा गार्ड अमिन अब्दुल्लाह, ७८ वर्षीय हेरचाहकर्ता मन्सुर काजिहा र ५७ वर्षीय नादिर अवादको मृत्यु भएको थियो । आक्रमणका क्रममा मस्जिदसँगै रहेको विद्यालयमा करिब १४० जना बालबालिका थिए । ती तीन जनाले आक्रमणकारीलाई रोक्ने प्रयास गरेकोले थप ठूलो क्षति हुनबाट जोगिएको भन्दै उनीहरूलाई नायकका रूपमा सम्मान गरिएको थियो ।
आक्रमणमा संलग्न भनिएका कालेब भाज्केज र केन क्लार्क घटनास्थलबाट भाग्ने क्रममा आफ्नै सवारीसाधनभित्र आत्महत्या गरेको अनुसन्धानकर्ताहरूले बताएका छन् । अनुसन्धानका क्रममा उनीहरूले मस्जिदपछि यहुदी मन्दिर र अश्वेत विद्यार्थी अध्ययन गर्ने एक उच्च माध्यमिक विद्यालयलाई समेत निशाना बनाउने योजना बनाएको खुलेको अधिकारीहरूको भनाइ छ ।
आक्रमणको लाइभ प्रसारण तीन जनाले हेरेको अनुसन्धानकर्ताहरूले पत्ता लगाएका छन् । सुरुमा अनुसन्धानकर्ताहरूलाई तीमध्ये एक जना पूर्वी समय क्षेत्रमा रहेकी महिला भएको मात्र जानकारी थियो । थप अनुसन्धानपछि ती महिला सान्टियागो भएको पहिचान गरियो । लाइभ प्रसारण हेर्ने अन्य दुई व्यक्तिको पहिचान भएको छ कि छैन र उनीहरूविरुद्ध पनि अभियोग लगाइने हो कि होइन भन्नेबारे ओ’निलले केही बताएनन् ।