किभमा रुसी हवाई आक्रमण, रेलकर्मी र दुई बालबालिकासहित १२ जनाको मृत्यु

आप्रवासन आप्रवासन

 

युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा रुसले गरेको पछिल्लो हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ । आक्रमणमा दुई बालबालिकासहित १७ जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

मंगलबार राति गरिएको आक्रमणका क्रममा किभमा सरकारी रेल कम्पनी उक्रजालिज्नित्स्याको डिपोमा समेत प्रहार भएको थियो । त्यहाँ कार्यरत रेलकर्मीमध्ये ६ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । किभनजिकैको बोरिस्पिल सहरमा थप चार जनाको मृत्यु भएको छ ।

आक्रमणका कारण किभका तीन जिल्लामा आगलागी भएको राजधानीका मेयर भिताली क्लिच्कोले बताएका छन् । आवासीय भवन तथा सर्वसाधारणले प्रयोग गर्ने पूर्वाधारमा समेत क्षति पुगेको उनले बताए । रुसको रक्षा मन्त्रालयले भने किभ र आसपासका क्षेत्रमा युक्रेनका सैन्य–औद्योगिक तथा इन्धन र ऊर्जा पूर्वाधारलाई लक्षित गरी उच्च परिशुद्धताका हतियार प्रयोग गरेर ठुलो आक्रमण गरिएको जनाएको छ । 

यसअघि गत शुक्रबार किभ क्षेत्रमा रहेको हतियार भण्डारण केन्द्रमा रुसी आक्रमण हुँदा ३८ जनाको मृत्यु भएको थियो । उक्त आक्रमणपछि त्यहाँ राखिएका गोलाबारुद, माइन तथा ड्रोन विस्फोट हुँदा ठुलो क्षति भएको थियो ।