चिनियाँ र रुसी कम्पनीले चलाउँदै आएका भेनेजुएलाका तेल क्षेत्र टेकओभर गर्दैछ अमेरिकी कम्पनी

आप्रवासन आप्रवासन

 

अमेरिकी तेल कम्पनी नर्थ अमेरिकन ब्लु इनर्जी पार्टनर्स (एनएबीईपी)ले भेनेजुएलाका केही महत्त्वपूर्ण तेल क्षेत्रको सञ्चालन जिम्मा लिने भएको छ । 

तीमध्ये केही तेल क्षेत्र यसअघि चिनियाँ कम्पनी र एउटा रुसी कम्पनीले सञ्चालन गर्दै आएका थिए । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग घोषणा गरेको व्यापक तेल उत्पादन सम्झौताअन्तर्गत एनएबीईपीले ती परियोजनाको जिम्मेवारी पाउन लागेको अमेरिकी अधिकारीहरूले रोयटर्सलाई बताएका छन् ।

भेनेजुएला सरकारले एनएबीईपीलाई १४ वटा नयाँ तेल परियोजनाको जिम्मेवारी दिने भएको छ । तीमध्ये पाँचवटा परियोजना यसअघि चिनियाँ कम्पनीले सञ्चालन गरेका थिए भने एउटा रुसी कम्पनीको जिम्मामा थियो । एनएबीईपी यसअघि अमेरिकी तेल व्यवसायी ह्यारी सार्जेन्टको स्वामित्वमा थियो । अहिले भने कम्पनी भेनेजुएलाका व्यवसायी अलेजान्ड्रो बेटानकोर्टको नियन्त्रणमा छ । कम्पनीले भेनेजुएलामा कुल १७ वटा परियोजना सञ्चालन गर्ने योजना बनाएको छ । नयाँ रूपमा जिम्मेवारी पाउने १४ परियोजनाबाहेक अन्य तीन परियोजना पनि कम्पनीको योजनामा छन् ।

अमेरिकी अधिकारीहरूका अनुसार एनएबीईपीले पाउने १४ परियोजनामध्ये दुईवटा चाइना कन्कर्ड रिसोर्सेजले सञ्चालन गर्दै आएको थियो । उक्त कम्पनीलाई अमेरिकाले सन् २०१९ मा इरानसँग सम्बन्धित गतिविधिका कारण प्रतिबन्ध लगाएको थियो । त्यस्तै, एउटा परियोजना सिनोपेक र अर्को चाइना नेसनल पेट्रोलियम कर्पोरेसनले सञ्चालन गर्दै आएका थिए । बाँकीमध्ये एउटा परियोजना रुसी कम्पनीले चलाउँदै आएको थियो ।

अधिकारीहरूका अनुसार एनएबीईपीको जिम्मामा जाने केही परियोजना एलेक्स साबसँग सम्बन्धित कम्पनीका सहायक संस्थाले पनि सञ्चालन गर्दै आएका थिए । साब भेनेजुएलाका अपदस्थ राष्ट्रपति निकोलस मादुरोका निकट सहयोगीका रूपमा चिनिन्थे र अहिले अमेरिकी हिरासतमा छन् । मादुरोकी पत्नी सिलिया फ्लोरेसका भतिजासँग सम्बन्धित एउटा तेल क्षेत्र पनि नयाँ व्यवस्थाअन्तर्गत पर्ने अधिकारीहरूले बताएका छन् ।

अमेरिकाले तेल उत्पादनमा प्रत्यक्ष भूमिका पाउने

सम्झौताअनुसार एनएबीईपीले कम्पनीको सञ्चालन नियन्त्रण आफ्नो मुठ्ठीमा राख्नेछ । अमेरिकी सरकारसँग कम्पनीको ३५ प्रतिशत हिस्सेदारी राख्ने अधिकार हुनेछ । साथै, कम्पनीले उत्पादन गर्ने तेलमध्ये २० प्रतिशत लागत मूल्यमा खरिद गर्ने प्राथमिकता अमेरिकालाई दिइनेछ । ह्वाइट हाउसका अनुसार बाँकी ८० प्रतिशत उत्पादन खरिद गर्ने पहिलो अधिकार पनि अमेरिकी विदेश मन्त्रालयलाई दिइएको छ । अमेरिकाले एनएबीईपीको सञ्चालक समिति र निर्देशकसम्बन्धी निर्णयमा भिटो अधिकारसमेत पाउनेछ । कम्पनीको सञ्चालक समितिमा बहुमत अमेरिकी नागरिक हुनुपर्ने व्यवस्था गरिएको छ ।

ट्रम्पले गत साता निजी क्षेत्रसँगको साझेदारीमार्फत भेनेजुएलाको करिब ६४ अर्ब ब्यारेल प्रमाणित तेल भण्डारमा अमेरिकाले पहुँच पाएको घोषणा गरेका थिए । यस सम्झौताले भेनेजुएलाको रणनीतिक महत्वका तेल क्षेत्रमा अमेरिकी कम्पनीहरूको पहुँच बढाउनेछ । साथै, लामो समयदेखि भेनेजुएलाको ऊर्जा क्षेत्रमा प्रभाव राख्दै आएका चिनियाँ र रुसी कम्पनीको भूमिका पनि घट्ने देखिएको छ । 

अमेरिकी अधिकारीका अनुसार यसअघि चीनतर्फ पठाइँदै आएको भेनेजुएलाको तेल अब अमेरिकी बजारमा ल्याउने योजना छ । अमेरिकी कम्पनी र सरकारलाई भेनेजुएलाको तेल उत्पादन तथा बिक्रीमा प्रत्यक्ष भूमिका दिने उद्देश्यले सम्झौता अघि बढाइएको उनीहरूको भनाइ छ । ट्रम्पले सोमबार पत्रकारहरूसँग कुरा गर्दै भेनेजुएलाबाट लाखौँ ब्यारेल तेल निकालेर अमेरिकाका टेक्सास र लुइजियानालगायत राज्यका रिफाइनरीमा पठाइने बताएका थिए ।