ट्रम्पको क्यानडा नीतिप्रति अमेरिकी नै असहमत, तालको नाम परिवर्तनमा व्यापक विरोध

आप्रवासन आप्रवासन

 

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने वस्तुमा बढाएको भन्सार र ओन्टारियो तालको नाम परिवर्तन गर्ने निर्णयप्रति अधिकांश अमेरिकी असन्तुष्ट देखिएका रोयटर्स/इप्सोसको सर्वेक्षणले देखाएको छ । 

सर्वेक्षणअनुसार क्यानडाबाट आयात हुने वस्तुमा थप भन्सार शुल्क लगाउने ट्रम्पको निर्णयलाई केवल २० प्रतिशत अमेरिकीले समर्थन गरेका छन् भने ५७ प्रतिशतले विरोध गरेका छन् । २१ प्रतिशतले यसबारे आफ्नो धारणा स्पष्ट गर्न सकेनन् ।

ट्रम्प प्रशासनले गत साता क्यानडाबाट आयात हुने वस्तुमा कर बढाउने निर्णय गरेको थियो । अमेरिका र क्यानडाबीचको व्यापार वार्ता विफल भएपछि दुई देशबिचको व्यापारिक तनाव थप बढेको हो । क्यानडा अमेरिकाको लामो समयदेखिको प्रमुख व्यापार साझेदारमध्ये एक हो ।

सर्वेक्षणले ट्रम्पको ओन्टारियो तालको नाम परिवर्तन गर्ने निर्णयप्रति झनै ठुलो असहमति देखाएको छ । चार सय वर्षभन्दा लामो समयदेखि ‘लेक ओन्टारियो’ नामले चिनिँदै आएको ताललाई ट्रम्पले ‘लेक अमेरिका’ नाम दिने आदेश गरेका थिए । सर्वेक्षणमा सहभागीमध्ये केवल १४ प्रतिशतले नाम परिवर्तनको समर्थन गरे भने ६३ प्रतिशतले विरोध गरेका छन् ।

यद्यपि ट्रम्पको आदेश अमेरिकी संघीय सरकारको प्रयोगमा मात्र लागू हुन्छ । क्यानडा, अन्तर्राष्ट्रिय निकाय वा अन्य संस्थाहरूले ताललाई के नामले सम्बोधन गर्ने भन्ने विषयमा उक्त आदेश बाध्यकारी हुँदैन । अमेरिकी नागरिकको असन्तुष्टि ट्रम्पको समग्र आर्थिक नीतिप्रति बढ्दो चिन्तासँग पनि जोडिएको देखिन्छ । अमेरिकामा ढ्दो जीवनयापन खर्च मतदाताका लागि प्रमुख राजनीतिक मुद्दा बनेको छ । पेट्रोलको मूल्यमा भएको वृद्धिसहित बढ्दो महँगीका कारण अमेरिकी परिवारमाथि आर्थिक दबाब रहेको सर्वेक्षणले संकेत गरेको छ । 

यो असन्तुष्टि आगामी नोभेम्बर ३ को मध्यावधि निर्वाचनका लागि ट्रम्पको रिपब्लिकन पार्टीका लागि चुनौती बन्न सक्ने देखिन्छ । रिपब्लिकनहरूले संसदका दुवै सदनमा आफ्नो सानो बहुमत जोगाउनुपर्ने अवस्थामा ट्रम्पको लोकप्रियता हालसम्मकै कमजोर स्तरमा रहेको पनि जनाइएको छ ।

यसैबीच, ट्रम्पले क्यानडामाथि लामो समयदेखि सार्वजनिक रूपमा दबाब बढाउँदै आएका छन् । उनले क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने सम्भावनासमेत पटक–पटक उठाउँदै आएका छन् । यसअघि आफ्नो दोस्रो कार्यकालको सुरुआतमा उनले मेक्सिकोको खाडीको नाम परिवर्तन गरी ‘गल्फ अफ अमेरिका’ राख्ने आदेश दिएका थिए ।

रोयटर्स/इप्सोसको तीनदिने सर्वेक्षण अगस्ट ३० मा सम्पन्न भएको थियो । अनलाइनमार्फत देशव्यापी रूपमा गरिएको सर्वेक्षणमा १,०२३ अमेरिकी वयस्क सहभागी थिए । सर्वेक्षणको त्रुटिको सम्भावित सीमा ४ प्रतिशत बिन्दु रहेको छ ।