बालबालिकाको पासपोर्टमा अभिभावकको कागजात अनिवार्य बनाउने तयारीमा अमेरिका

आप्रवासन आप्रवासन

 

वाशिङ्टन डीसी । अमेरिकी विदेश मन्त्रालयले बालबालिकाको पासपोर्टका लागि आवेदन दिँदा अभिभावक वा कानुनी संरक्षकले आफ्नो नागरिकता वा आप्रवासन हैसियत प्रमाणित गर्नुपर्ने नयाँ नियम प्रस्ताव गरेको छ ।

रोयटर्सले प्राप्त गरेको विदेश मन्त्रालयको मस्यौदा निर्देशनअनुसार, अमेरिकामा जन्मिएका बालबालिकाको पासपोर्ट आवेदनका क्रममा अभिभावकको नागरिकता वा आप्रवासनसम्बन्धी कागजात पनि पेस गर्नुपर्नेछ । सरकारले ती कागजातका आधारमा बच्चा अमेरिकी नागरिकताका लागि योग्य भए–नभएको निर्धारण गर्नेछ ।

प्रस्ताव कार्यान्वयनमा आएमा अमेरिकी नागरिक अभिभावकले वैध अमेरिकी पासपोर्ट वा जन्मदर्ता प्रमाणपत्रजस्ता कागजात पेस गर्नुपर्नेछ । आप्रवासी अभिभावकले भने आई–९४ फाराम वा स्थायी बसोबास अनुमति अर्थात् ग्रिन कार्डजस्ता कागजात देखाउनुपर्ने हुन सक्छ ।

अहिले अमेरिकामा जन्मिएका बालबालिकाको पासपोर्ट आवेदनमा अभिभावकले मुख्यतः बच्चासँगको आफ्नो सम्बन्ध प्रमाणित गर्ने कागजात र फोटोसहितको परिचयपत्र पेस गरे पुग्छ । अभिभावक अमेरिकी नागरिक भए–नभएको जानकारी आवेदन फाराममा दिनुपर्ने भए पनि त्यसको प्रमाण छुट्टै बुझाउनुपर्ने व्यवस्था छैन ।

नयाँ प्रस्ताव राष्ट्रपति ट्रम्पले अगस्ट ६ मा जारी गरेको कार्यकारी आदेश कार्यान्वयन गर्ने प्रयाससँग जोडिएको छ । उक्त आदेशले अमेरिकामा जन्मिएपछि स्वतः नागरिकता पाउने व्यवस्थामा केही अपवाद थप्न खोजेको छ ।

प्रस्तावित व्यवस्थाअनुसार अमेरिकामा जन्मिएको बच्चाका अभिभावकमध्ये कोही अमेरिकी सरकारको भूमिमा विदेशी सरकारका लागि काम गर्ने व्यक्ति भए, नागरिकता प्राप्त गर्न ठगी वा व्यावसायिक कारोबार गरेको भए वा ‘एलियन एनिमी’को श्रेणीमा परेमा बच्चाको नागरिकतामा असर पर्न सक्छ ।

ट्रम्प प्रशासनले विशेष गरी ‘बर्थ टुरिजम’ अर्थात् बच्चा जन्माएर अमेरिकी नागरिकता दिलाउने उद्देश्यले गर्भवती महिला अमेरिका आउने प्रवृत्तिलाई लक्षित गर्दै यस्तो कदम अघि बढाएको हो । यसअघि ट्रम्पले जन्मसिद्ध नागरिकता सीमित गर्ने अर्को कार्यकारी आदेश जारी गरेका थिए ।

त्यसमा अमेरिकी नागरिक वा ग्रिन कार्ड भएका कम्तीमा एक अभिभावक नभएका बच्चालाई जन्मकै आधारमा स्वतः अमेरिकी नागरिकता नदिने व्यवस्था गर्न खोजिएको थियो । तर अमेरिकी सर्वोच्च अदालतले ६–३ को फैसलामा उक्त आदेश गैरकानुनी ठहर गरेको थियो ।

बहुमत न्यायाधीशले यस्तो व्यवस्था संविधानको १४औँ संशोधनमा रहेको नागरिकता सम्बन्धी प्रावधान विपरीत भएको बताएका थिए । ट्रम्पको पछिल्लो आदेशले पनि अदालतमा चुनौतीको सामना गरेको छ । जन्मसिद्ध नागरिकता गुमाउन सक्ने नवजात शिशुका तर्फबाट मुद्दा लडिरहेका वकिलहरूले दुई वटा सङ्घीय अदालतमा आदेश कार्यान्वयन रोक्न माग गरेका छन् ।

त्यसमध्ये एउटा मुद्दाको सुनुवाइ राष्ट्रपति जो बाइडेनले नियुक्त गरेकी सङ्घीय न्यायाधीश डेबोरा बोर्डम्यानको इजलासमा भइरहेको छ । शुक्रबार मेरिल्यान्डमा भएको सुनुवाइका क्रममा बोर्डम्यानले ट्रम्पको आदेशलाई अभूतपूर्व भन्दै त्यसप्रति शङ्का व्यक्त गरेकी थिइन् । तर अमेरिकी न्याय मन्त्रालयका वकिलहरूले तत्काल रोक लगाउनु उचित नहुने तर्क गरेका छन् ।

उनीहरूले सङ्घीय निकायहरूले आदेश कार्यान्वयन गर्ने विस्तृत सार्वजनिक निर्देशनसमेत जारी नगरेको अवस्थामा चुनौती दिनु समयभन्दा अगावै भएको बताएका छन् ।