टर्कीको इस्तानबुल नजिकै मार्मारा सागरमा बुधबार टर्कीको झन्डा बोकेका दुई व्यावसायिक पानीजहाज आपसमा ठोक्किएका छन् । दुर्घटनापछि एउटा पानीजहाज र त्यसमा रहेका १० जना चालक दलसँग सम्पर्क स्थापित हुन नसकेको इस्तानबुल गभर्नरको कार्यालयले जनाएको छ ।
गभर्नर कार्यालयका अनुसार ‘अल्सु’ र ‘टुग्बेर्क इमामोग्लु’ नामका दुई जहाज बुधबार बिहान करिब ३ बजे इस्तानबुलको सिलिभ्री जिल्लानजिकै ठोक्किएका हुन् । अल्सु एजियन सागरस्थित अलियागा बन्दरगाहतर्फ जाँदै गरेको थियो भने टुग्बेर्क इमामोग्लु कृष्ण सागरस्थित कारादेनिज एरेग्ली बन्दरगाहतर्फ गइरहेको थियो ।
दुर्घटनापछि खोज तथा उद्धारका लागि तटरक्षक जहाज र हेलिकोप्टर घटनास्थलमा परिचालन गरिएको थियो । गभर्नर कार्यालयका अनुसार अल्सुमा बाहिरबाट देखिने कुनै क्षति भएको छैन । तर टुग्बेर्क इमामोग्लु र त्यसमा रहेका १० जना चालक दलसँग अधिकारीहरूले सम्पर्क स्थापित गर्न सकेका छैनन् ।
इस्तानबुल चेम्बर अफ मेरिटाइम कमर्सको विवरणअनुसार टुग्बेर्क इमामोग्लु जेबे डेनेसिलिकको स्वामित्वमा रहेको बल्क क्यारियर हो भने अल्सु ओजपुलाथाने डेनि तासिमाजिलिगीको स्वामित्वमा रहेको रासायनिक ट्याङ्कर हो । घटनापछि हराइरहेको जहाज र चालक दलको खोजी तथा उद्धार अभियान जारी रहेको गभर्नर कार्यालयले जनाएको छ ।