इजिप्टको रेड सी तटमा बस दुर्घटना, २२ जनाको मृत्यु

आप्रवासन आप्रवासन

 

इजिप्टको पूर्वी क्षेत्रमा बुधबार बिहान भएको बस दुर्घटनामा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा अन्य २८ जना घाइते भएका छन् । दक्षिण सिनाई प्रान्तअन्तर्गत रेड सी तटका पर्यटकीय सहर दाहाब र नुवेइबा जोड्ने सडकमा दुर्घटना भएको इजिप्टको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमध्ये १० जनासम्म जोर्डनका नागरिक हुन सक्ने इजिप्ट र जोर्डनका सञ्चारमाध्यमले भनेका छन् । तर, मृतकको राष्ट्रियताबारे विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन ।

दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । नत दुर्घटनाका बेला बसमा कति यात्रु सवार थिए भन्ने नै स्पष्ट भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार घाइते सबैलाई तीनवटा अलग–अलग अस्पतालमा उपचारका लागि लगिएको छ । दाहाब र नुवेइबा क्षेत्र विश्वभरका पर्यटकका लागि लोकप्रिय गन्तव्य मानिन्छ । यहाँका समुद्री तट र पर्यटकीय गतिविधिका कारण ठुलो संख्यामा विदेशी पर्यटक पुग्ने गर्छन् ।

इजिप्टमा सडक दुर्घटनाबाट मृत्यु सामान्य मानिन्छ । सरकारी तथ्यांकअनुसार सन् २०२५ मा मात्रै सडक दुर्घटनामा झन्डै ६ हजार जनाको मृत्यु भएको थियो । यस्ता दुर्घटनाका प्रमुख कारणमा तीव्र तथा लापरबाहीपूर्ण सवारी चलाउने प्रवृत्ति र सडकको कमजोर मर्मतसम्भारलाई औंल्याउने गरिएको छ । गत महिना उत्तरपूर्वी इस्माइलिया प्रान्तमा दुईवटा ट्रक आपसमा ठोक्किँदा १८ जनाको मृत्यु भएको थियो भने ३० जना घाइते भएका थिए ।