उडिरहेको विमानका पाइलटको स्वास्थ्य बिग्रिएपछि मस्कटतर्फ डाइभर्ट

आप्रवासन आप्रवासन

दोहाबाट भारतको बैंगलुरुका लागि उडेको इन्डिगोको विमानका पाइलट–इन–कमान्डको उडानकै क्रममा अचानक स्वास्थ्य बिग्रिएपछि विमानलाई ओमानको मस्कटतर्फ डाइभर्ट गरिएको छ।

विमान अवतरण गर्ने बेलासम्म मेडिकल टिम धावनमार्गमा पुगिसकेको थियो। विमान अवतरण गरेपछि पाइलटको स्वास्थ्य जाँच गरिएको थियो। त्यसपछि उनलाई तत्काल अस्पताल भर्ना गरिएको थियो। अहिले पाइलटको स्वास्थ्य अवस्था ठीक रहेको बताइएको छ।

बैंगलुरुबाट मस्कटमा रिलिफ फ्लाइट मगाएर यात्रुहरूलाई गन्तव्यमा पुर्‍याउने काम भइरहेको छ। यसका लागि क्रु मेम्बरको नयाँ टोली खटाइएको छ।

यो घटना इन्डिगोको उडान ६ई १३०२ मा बिहीबार भएको हो। यस मामिलामा कम्पनीले विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा घटनाबारे प्रकाश पार्दै इन्डिगोले यात्रु तथा चालक दलको सुरक्षालाई आफ्नो सर्वोच्च प्राथमिकता भएको बताएको छ। साथै, यात्रुहरूलाई परेको असुविधाप्रति कम्पनीले क्षमा मागेको छ।

यसअघि पनि इन्डिगोका अन्तर्राष्ट्रिय उडानमा आकस्मिक अवस्था देखिएका थिए। गत जुलाई २७ मा दुबईबाट मुम्बई आउँदै गरेको इन्डिगोको विमानको कार्गो होल्डमा धुवाँ देखिएपछि विमानलाई गुजरातको राजकोटतर्फ डाइभर्ट गरिएको थियो। विमान राजकोट विमानस्थलमा सुरक्षित अवतरण गरेपछि त्यसमा रहेका १९४ यात्रु तथा चालक दलका सदस्यलाई सुरक्षित बाहिर निकालिएको थियो।