उत्तर प्रदेशमा अविरल वर्षापछि बाढी, ७ जनाको मृत्यु

आप्रवासन आप्रवासन

भारतको उत्तर प्रदेशमा वर्षासँगै घर तथा पर्खाल भत्किँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । लगातार भइरहेको वर्षाका कारण विभिन्न नदीमा पानीको सतह बढ्दा बाढीको अवस्था सिर्जना भएको छ । बाढी र डुबानका कारण घर तथा पसलमा पानी पसेको छ भने रोजगारी प्रभावित हुँदा स्थानीयवासीको जनजीवन कठिन बनेको छ ।

चित्रकुटमा मन्दाकिनी नदीको पानी घाट र सडकसम्म पुगेपछि नदी किनारमा बसोबास गर्ने २५० भन्दा बढी परिवार जोखिममा परेका छन् । बराछ गाउँमा कच्ची पर्खाल र छाना भत्किँदा ३५ वर्षीय कल्लु यादव र उनका दुई बालबालिकाको मृत्यु भएको छ । सीतापुरमा दुई महिला, बहराइचमा एक बालिका र बाराबंकीमा एक जनाको पनि मृत्यु भएको जनाइएको छ । कानपुरमा पाण्डु नदीको जलस्तर बढेपछि १० क्षेत्रमा बाढीको अवस्था बनेको छ । गोपालपुरम र जरौली फेज–२ मा पानीमा फसेका करिब २५ परिवारलाई एनडीआरएफ टोलीले सुरक्षित उद्धार गरेको छ । कानपुरका विभिन्न क्षेत्रमा करिब ३४ हजार मानिस बाढीबाट प्रभावित भएका छन् ।

अम्बेडकरनगर, बाराबंकी, अयोध्या र बहराइचमा सरयु नदीको बाढी फैलिँदै गएको छ । बस्तीमा सरयुको पानी खतराको तहभन्दा ११ सेन्टिमिटर माथि पुगेको छ । वाराणसीमा गंगाको जलस्तर पनि खतराको तह नजिक पुगेको छ । सबै घाट जलमग्न भएका छन् भने वरुणा नदीमा समेत उर्लिएको पानीका कारण केही मानिस घर छाडेर शिविरमा बस्न बाध्य भएका छन् भने उत्तर प्रदेश सरकारले बाढी तथा कटानबाट प्रभावित परिवारलाई राहत र आवास सहयोग उपलब्ध गराउने जनाएको छ ।