जन्तर–मन्तरमा भएको प्रदर्शनका क्रममा घाइते भएका निशु आजादका बुबा सञ्जयलाई न्याय दिलाउन माग गर्दै कक्रोच जनता पार्टी (सीजेपी) का नेता तथा कार्यकर्ता दिल्लीको संसद् मार्ग प्रहरी कार्यालय पुगेका छन् ।
सीजेपीका प्रवक्ता सौरभ दास, सह–संयोजक आशुतोष रांका लगायतका नेता तथा कार्यकर्ता पटेल चोकबाट संसद् मार्ग प्रहरी कार्यालयतर्फ पुगेका हुन् । उनीहरूले सञ्जयमाथि भएको भनिएको आक्रमणमा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गर्न र घटनामा कडा कानुनी कारबाही अघि बढाउन माग गरेका छन् ।
सीजेपीका सह–संयोजक रांकाले घटनामा दिल्ली प्रहरीले पर्याप्त कारबाही नगरेको आरोप लगाए । उनका अनुसार जन्तर–मन्तरमा भएको प्रदर्शनका क्रममा सञ्जयको टाउकोमा गम्भीर चोट लागेको थियो । सीजेपीले घटनालाई गम्भीर अपराध भन्दै आक्रमणमा संलग्न व्यक्तिविरुद्ध हत्या प्रयासको मुद्दा चलाउनुपर्ने माग गर्दै आएको छ ।
के हो निशु आजाद प्रकरण ?
निशु आजादले जुलाईमा जन्तर–मन्तरमा भएको प्रदर्शनमा सहभागिता जनाएकी थिइन् । यसै सिलसिलामा उनका बुबा सञ्जयमाथि आक्रमण भएको थियो । घटनामा सञ्जयको टाउकोमा गम्भीर चोट लागेको र उनलाई उपचारका क्रममा धेरै टाँका लगाउनुपरेको निशुले बताउँदै आएकी छन् ।
निशुका अनुसार घटनापछि प्रहरीमा प्रारम्भिक उजुरी दर्ता भए पनि डेढ महिनाभन्दा बढी समय बितिसक्दा समेत आरोपी विरुद्ध प्रभावकारी कारबाही भएको छैन । यही विषयलाई लिएर उनले प्रहरीसँग न्यायको माग गर्दै आएकी छन् ।
यसबिच यस घटनामा ‘आक्रमणकारी’ मानिएका स्वतन्त्र भारद्वाजको एउटा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । भारद्वाजले आफूलाई हिन्दुत्वसम्बन्धी सामग्री बनाउने इन्फ्लुएन्सरका रूपमा प्रस्तुत गर्ने गरेको बताइएको छ ।
भिडियोमा उनले सञ्जयमाथि भएको आक्रमणबारे बोलेको सुनिन्छ । उनले सञ्जयको टाउकोमा गम्भीर चोट लागेको र ६० वटा टाँका लगाइएको दाबी गरेको बताइएको छ । यद्यपि, उक्त भिडियोमा गरिएको दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन ।
चन्द्रशेखर आजाद पनि प्रहरी कार्यालयमा
सीजेपी नेताहरूलाई समर्थन गर्न आजाद समाज पार्टी (कांशीराम) का अध्यक्ष चन्द्रशेखर आजाद पनि संसद् मार्ग प्रहरी कार्यालय पुगेका छन् । उनले निशु आजाद र उनका बुबा सञ्जयका लागि न्याय माग्दै भइरहेको अभियानमा समर्थन जनाएका हुन् ।
प्रहरी कार्यालयबाहिर सुरक्षा व्यवस्था कडा पारिएको थियो । सीजेपीका नेताहरूले आरोपीलाई तत्काल पक्राउ गर्न, घटनामा हत्या प्रयासको मुद्दा दर्ता गर्न तथा सबै गम्भीर कानुनी धाराहरू लागू गर्न माग गरेका छन् ।
यस प्रकरणमा कांग्रेसनिकट विद्यार्थी संगठनले पनि निशु र उनको परिवारको पक्षमा उभिएको बताएको छ । जन्तर–मन्तरमा भएको प्रदर्शन प्रश्नपत्र लिकविरुद्ध विद्यार्थीहरूको आक्रोशसँग सम्बन्धित थियो । संगठनले प्रदर्शनमा सहभागी निशुका बुबामाथि आक्रमण भएको र आरोपीले नै सार्वजनिक रूपमा घटनाबारे बोलेको दाबी गर्दै प्रहरीको भूमिकामाथि प्रश्न उठाएको छ ।
सीजेपीले भने घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरी निष्पक्ष अनुसन्धान र कडा कानुनी कारबाही सुनिश्चित नभएसम्म आन्दोलन जारी राख्ने सङ्केत गरेको छ ।