भारतीय विमान सेवा प्रदायक कम्पनी एयर इन्डियाको फुकेट–दिल्ली उडानका कमान्डिङ पाइलटले नशाको अवस्थामा विमान उडाएको पुष्टि भएको छ । एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरो (एएआईबी) को अनुसन्धानका क्रममा पाइलटको परीक्षणमा साइकोएक्टिभ पदार्थ सेवन गरेको सङ्केत देखिएको हो ।
गएको अगस्ट ४ मा फुकेटबाट दिल्ली आउँदै गरेको एयर इन्डियाको एआई २३७९ उडानमा गम्भीर टर्बुलेन्स भएको थियो । एयरबस ए–३२० विमान एक्कासि करिब ३०० फिट तल झरेपछि विमानमा सवार यात्रुहरू घाइते भएका थिए ।
एएआईबीले प्रारम्भिक अनुसन्धानपछि कमान्डिङ पाइलटले नशालु पदार्थ खाएका थिए कि थिएनन् भनेर परीक्षण गरिएको थियो । परीक्षणको नतिजा पोजेटिभ आएको जनाएको छ । यस घटनालाई गम्भीर चिन्ताको विषय भन्दै एएआईबीले घटनाका प्राविधिक तथा अन्य पक्षबारे विस्तृत अनुसन्धान जारी रहेको जनाएको छ ।
एएआईबीले आफ्नो अन्तरिम सुरक्षा सिफारिसमा भारतको नागरिक उड्डयन नियामक निकाय डीजीसीएलाई यस विषयमा आवश्यक कारबाही गर्न भनेको छ । घटनाको समयमा विमानमा दुई पाइलट र ६ जना क्याबिन क्रूसहित कुल १४५ जना सवार थिए । दिल्ली विमानस्थलमा अवतरण गरेपछि विमानका २४ जनालाई चिकित्सकीय सहायता आवश्यक परेको थियो । यिनीहरूमध्ये चार जनालाई गम्भीर चोट लागेको थियो ।
अचानक विमान करिब ३०० फिट तल झर्दा यात्रुहरूबिच केही समय अत्यासको अवस्था सिर्जना भएको थियो । घटनापछि एएआईबीको अनुसन्धान टोलीले दिल्ली विमानस्थलमा उडान दल तथा क्याबिन क्रूसँग कुराकानी गरेको थियो । त्यसपछि विमानका दुवै पाइलटसँग छुट्टाछुट्टै सोधपुछ पनि गरिएको थियो ।