अमेरिकाद्वारा आफ्ना नागरिकलाई नेपालको रसुवा क्षेत्रमा यात्रा नगर्न आग्रह

आप्रवासन आप्रवासन

 

संयुक्त राज्य अमेरिकाले नेपालका लागि आफ्नो ‘ट्राभल एडभाइजरी’मा सुधार गर्दै पर्यटक तथा आफ्ना नागरिकलाई नेपाल भ्रमणका क्रममा बढी सतर्कता अपनाउन आग्रह गरेको छ । अमेरिकी विदेश मन्त्रालयले सेप्टेम्बर ४, २०२६ मा जारी गरेको नयाँ यात्रा सुझावमा नेपाललाई ‘दोस्रो स्तरको बढी सतर्कता अपनाउनुहोस्’ श्रेणीमा राखिएको छ भने रसुवा जिल्लाको केही क्षेत्रलाई भने ‘चौथो स्तरको यात्रा नगर्नुहोस्’ श्रेणीमा राखिएको छ ।

अमेरिकी विदेश मन्त्रालयले विशेषगरी रसुवागढी–टिमुरे–स्याफ्रुबेँसी क्षेत्र तथा नेपाल–चीन सीमा नाकामा कुनै पनि कारणले यात्रा नगर्न आग्रह गरेको छ । ठूलो बाढी र पहिरोबाट उक्त क्षेत्रमा व्यापक क्षति पुगेको, यातायात तथा सञ्चार सेवा प्रभावित भएको र अझै खोज, उद्धार तथा पुनःस्थापना कार्य जारी रहेकाले जोखिम उच्च रहेको अमेरिकाको भनाइ छ ।

यात्रा सुझावमा उक्त क्षेत्रमा थप बाढी र पहिरोको सम्भावनासमेत रहेको उल्लेख गरिएको छ । प्रभावित क्षेत्रअन्तर्गत भोटेकोशी, त्रिशूली र नारायणी नदी आसपासका बस्तीहरू पनि समेटिएका छन् । अमेरिकी विदेश मन्त्रालयले नदी किनार, होचा भूभाग, क्षतिग्रस्त पुल तथा अस्थिर भिरालो क्षेत्रबाट टाढा रहन यात्रुलाई आग्रह गरेको छ ।

त्यस्तै, नेपाली अधिकारीले जारी गरेका उद्धार, विस्थापन तथा सुरक्षा निर्देशनको पालना गर्न पनि सुझाव दिइएको छ । हराइरहेका आफन्त वा व्यक्तिको खोजी गर्न भन्दै सर्वसाधारण वा विदेशी नागरिकले आफैं विपद् प्रभावित क्षेत्रमा प्रवेश नगर्न अमेरिकी विदेश मन्त्रालयले स्पष्ट चेतावनी दिएको छ ।

अमेरिकी यात्रा सुझावमा नेपाल नियमित रूपमा भूकम्प, बाढी र पहिरोको जोखिममा रहने मुलुकका रूपमा उल्लेख गरिएको छ । भूकम्प अचानक र पूर्वसूचनाबिनै आउन सक्ने तथा काठमाडौँ उपत्यका पनि त्यसबाट प्रभावित हुन सक्ने चेतावनी दिइएको छ ।

विशेषगरी जुनदेखि सेप्टेम्बरसम्मको मनसुन अवधिमा भारी वर्षाका कारण अचानक आउने बाढी र पहिरोले सडक अवरुद्ध गर्ने, भवन तथा पूर्वाधारमा क्षति पुर्याउने र आपत्कालीन अवस्थामा उद्धार तथा सहायता प्राप्त गर्न कठिन बनाउने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

त्यसैगरि, यात्रा सुझावमा नेपालका स्वास्थ्य तथा आकस्मिक उपचार सेवाको क्षमतासमेत सीमित रहेको उल्लेख गरिएको छ । काठमाडौंका अस्पताल अन्य क्षेत्रको तुलनामा तुलनात्मक रूपमा राम्रो भए पनि त्यहाँ भीडभाड हुने, आवश्यक उपकरण तथा औषधिको अभाव हुन सक्ने र उपचारअघि नै शुल्क मागिने अवस्था हुन सक्ने जनाइएको छ ।

विदेशी नागरिकको उपचार खर्च नेपाल सरकारले व्यहोर्दैन भन्दै अमेरिकी नागरिकलाई आफूलाई आवश्यक औषधि साथमै लैजान तथा यात्रा स्वास्थ्य बीमा गर्न सुझाव दिइएको छ ।

नेपाल भ्रमण गर्ने निर्णय गरेका आफ्ना नागरिकलाई अमेरिकी सरकारले स्थानीय सञ्चारमाध्यममार्फत तत्कालीन सूचना तथा विपद्सम्बन्धी समाचार नियमित रूपमा हेर्न र आवश्यक परे यात्रा योजना परिवर्तन गर्न आग्रह गरेको छ ।

HRbte_Na8AArHDQ