पहिरोमा परेर चीनमा दुई जनाको मृत्यु, १० जना बेपत्ता

आप्रवासन आप्रवासन

 

साउडेल समुद्री आँधीका कारण लगातार परेको भारी वर्षापछि चीनको पूर्वी क्षेत्रमा पहिरोमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ । यस घटनामा अरू १० जना अझै बेपत्ता रहेको बताइएको छ ।

जियाङ्सी प्रान्तको जियान सहरअन्तर्गत सुइछुआन काउन्टीको एउटा गाउँमा शनिबार बिहान पहिरो गएको थियो । पहिरोले करिब एक दर्जन घरमा क्षति पुर्‍याएको स्थानीय अधिकारीहरूले बताएका छन् । पहिरो गएको खबर पाए लगत्तै उद्धार टोली घटनास्थलमा पुगेको थियो । उद्धारका क्रममा एक जनालाई जीवितै निकालिए पनि उनको मृत्यु भएको थियो । अन्य दुई जनालाई भने सकुशल उद्धार गरिएको थियो ।

आइतबार बिहान उद्धारकर्मीहरूले बेपत्ता व्यक्तिमध्ये थप एक जनालाई भत्किएका घरको भग्नावशेषमा मृत अवस्थामा फेला पारेका छन् । अझै १० जना सम्पर्कविहीन रहेकाले खोजी तथा उद्धार कार्य जारी रहेको छ । टाइफुन साउडेलका कारण दक्षिण–मध्य चीनको हुनान प्रान्तमा पनि दुई जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएको छ । भारी वर्षासँगै विभिन्न स्थानमा पहिरो तथा अन्य प्राकृतिक विपत्ति निम्तिएको बताइएको छ ।

साउडेलले अगस्ट २८ मा झेजियाङ प्रान्तमा दुई पटक पहिरो खसाएको थियो । त्यसपछि बिहीबार फुजियान प्रान्तमा उष्णकटिबन्धीय आँधीका रूपमा तेस्रो पटक जमिनमा प्रवेश गरेको चिनियाँ समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । फुजियानमा पनि लगातारको वर्षाका कारण ठुलो क्षति पुगेको छ । पुतियान सहरको हुआटिङ टाउनमा मात्रै १०० भन्दा बढी घर भत्किएको र बिहीबार एउटा तटबन्ध भत्किएपछि गाउँहरूमा पानी पसेको अधिकारीहरूले बताएका छन् ।

बाढी र पहिरोको जोखिम बढेपछि फुजियानमा शुक्रबार रातिसम्म करिब ६ लाख मानिसलाई जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा सारिएको थियो । सरकारी टेलिभिजन सीसीटीभीले सार्वजनिक गरेका दृश्यमा सडकहरू खोलाजस्तै बनेको र उद्धारकर्मीहरूले रबरका डुङ्गा प्रयोग गरेर उद्धार गरिरहेको देखाइएको छ ।