सुस्ताउँदै गएको अर्थतन्त्रलाई गति दिन तथा आफ्नो वित्तीय प्रणालीलाई थप मजबुत बनाउन चीनले आठ वटा सरकारी स्वामित्वका बैंक तथा बीमा कम्पनीमा करिब ५४ अर्ब अमेरिकी डलर बराबरको तरलता प्रवाह गर्ने भएको छ ।
चीनको सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार अर्थ मन्त्रालयको नेतृत्वमा हुने यो पुँजी लगानी कुल ३६० अर्ब युआन अर्थात् करिब ५३ अर्ब ६० करोड अमेरिकी डलर हुनेछ । यसबाट बैंक तथा वित्तीय संस्थाको सञ्चालन क्षमता, जोखिम सामना गर्ने क्षमता र वास्तविक अर्थतन्त्रमा वित्तीय सेवा प्रवाह गर्ने क्षमता बढ्ने अपेक्षा गरिएको छ ।
यस प्याकेजअन्तर्गत इन्डस्ट्रियल एन्ड कमर्सियल बैंक अफ चाइना, एग्रिकल्चरल बैंक अफ चाइना तथा चाइना एक्सपोर्ट एन्ड क्रेडिट इन्स्योरेन्स कर्पोरेसनसहित तीन ठूला बैंक र पाँच वटा बीमा कम्पनीको वित्तीय अवस्था मजबुत बनाइनेछ । चीनको सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सले यस कदमले बैंक तथा वित्तीय संस्थालाई अर्थतन्त्रका विभिन्न क्षेत्रमा थप कर्जा प्रवाह गर्न स्रोत उपलब्ध गराउने र विश्वव्यापी वित्तीय अनिश्चितताबीच बाह्य जोखिम सामना गर्ने क्षमता बढाउने जनाएको छ ।
विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीन पछिल्लो समय कमजोर घरेलु माग, पश्चिमी मुलुकसँगको व्यापार तथा प्रविधि तनाव, वृद्ध हुँदै गएको जनसंख्या र घट्दो श्रमशक्तिजस्ता चुनौतीसँग जुधिरहेको छ । चीनको अर्थतन्त्र चालु वर्षको दोस्रो त्रैमासिकमा ४ दशमलव ३ प्रतिशतले मात्र बढेको थियो। यो पहिलो त्रैमासिकमा हासिल भएको ५ प्रतिशत वृद्धिभन्दा कम हो । चीनले यस वर्ष आर्थिक वृद्धिको लक्ष्य ४ दशमलव ५ देखि ५ प्रतिशतको दायरामा राखेको छ, जुन सन् १९९१ यताकै न्यून लक्ष्य हो ।