सैन्य कारबाहीसँगै इरानको अर्को ठूलो चुनौती अर्थतन्त्र र जनताको जीविकोपार्जन बनेको पनि गालिबाफल बताएका छन् । उनका अनुसार मुद्रा विनिमय दरमा तीव्र उतारचढाव, महँगी, बेरोजगारी र बजार व्यवस्थापन अहिलेका प्रमुख समस्या हुन् । अहिले एक डलरको भाउ झन्डै २२ लाख इरानी डलरमा पुगेको छ । इरानी जनताले कठिन परिस्थिति सहन सक्ने भए पनि आर्थिक व्यवस्थापनमा कमजोरी र निष्क्रियता स्वीकार गर्न नसक्ने उनले बताए । सरकारले यी समस्या समाधान गर्न छिटो कदम चाल्नुपर्ने उनको भनाइ छ ।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेको करिब ६ महिनापछि पनि दुई पक्षबीचको द्वन्द्व अन्त्य हुने संकेत देखिएको छैन । जुनमा भएको प्रारम्भिक युद्धविराम सम्झौता कार्यान्वयनमा आउन सकेन। युद्ध अन्त्यका लागि कूटनीतिक प्रयासमा पनि खासै प्रगति हुन सकेको छैन । अगस्टको अधिकांश समय सैन्य गतिविधिमा केही विराम देखिए पनि पछिल्ला दिनमा अमेरिका र इरानबीच पुनः आक्रमण–प्रतिआक्रमण सुरु भएको छ । अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबार तीन इरानी तेल ट्यांकरमाथि आक्रमण गरेको जनाएको छ । इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स कप्र्स (आईआरजीसी)ले अमेरिकी नौसेनाका दुई युद्धपोततर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि ती ट्यांकरमाथि आक्रमण गरिएको अमेरिकी पक्षको भनाइ छ ।
होर्मुजमा नयाँ प्रतिबन्धित क्षेत्र बनाउने तयारी
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसेन रेजाईले आगामी केही दिनमा स्टे«ट अफ होर्मुज नजिक नयाँ प्रतिबन्धित क्षेत्र घोषणा गरिने बताएका छन् । राज्य सञ्चारमाध्यमका अनुसार उक्त क्षेत्र फारसको खाडीका केही भागसम्म फैलिनेछ । रेजाईले नयाँ क्षेत्रमा प्रवेश गर्ने र होर्मुज जलडमरूमध्य पार गर्ने उद्देश्य देखिएका जहाजलाई इरानको प्रतिबन्ध सूचीमा राखिने बताए । यस योजनाबारे थप विस्तृत जानकारी भने तत्काल सार्वजनिक गरिएको छैन ।
अमेरिकाले इरानको तेल निर्यात रोक्ने र प्रतिबन्ध छल्ने प्रयासलाई नियन्त्रण गर्ने अभियान तीव्र बनाएपछि इरानको अर्थतन्त्रमा दबाब बढेको इरानी अधिकारीहरूले बताएका छन् । इरानका अर्थमन्त्री अली मदानिजादेहले आइतबार अमेरिकी आर्थिक दबाबको सामना गर्न सरकारले सुधारका कार्यक्रम अघि बढाउने बताएका थिए । प्रतिबन्धका कारण इरानले आफ्नो नीति परिवर्तन गर्ने अमेरिकी अपेक्षा गलत भएको उनको भनाइ छ ।
आर्थिक दबाब र एक्ल्याउने प्रयासबाट देशको निर्णय परिवर्तन गर्न नसकिने उनले बताए । इरानको अर्थतन्त्र सुधार गर्ने जिम्मेवारी अमेरिकी अर्थ मन्त्रालयको नभई इरानी सरकार र जनताको भएको उनको भनाइ छ । अर्थ मन्त्रालयका उपमन्त्री मोर्तेजा जमानियानले पनि युद्धका कारण उत्पन्न आर्थिक समस्या समाधान गर्न मन्त्रालयअन्तर्गतको आर्थिक युद्ध मुख्यालयले आफ्नो काम तीव्र बनाएको बताएका छन् ।
खार्ग टापुमा ५५० पटक आक्रमण भएको दाबी
इरानका तेलमन्त्री मोहसेन पाकनेजादले पछिल्ला महिनामा खार्ग टापुमा करिब ५५० पटक आक्रमण भएको दाबी गरेका छन् । तर, यति धेरै आक्रमण भएपनि टापुमा गतिविधि जारी रहेको उनले सरकारी टेलिभिजनसँगको अन्तर्वार्तामा बताएका छन् । खार्ग टापु इरानको प्रमुख तेल निर्यात केन्द्र हो । युद्ध सुरु हुनुअघि इरानले आफ्नो कच्चा तेलको करिब ९० प्रतिशत यही निर्यात केन्द्रबाट बाहिर पठाउँदै आएको थियो । अमेरिकाले अप्रिलको मध्यदेखि इरानी तेल निर्यातमाथि नाकाबन्दी सुरु गरेपछि तेलको आवतजावतमा असर परेको छ ।
अमेरिकी सेन्ट्रल कमान्डले आइतबारसम्म नाकाबन्दी कार्यान्वयनका क्रममा ९२ वटा व्यावसायिक जहाजको मार्ग परिवर्तन गरिएको, तीनवटा जहाजलाई निष्क्रिय पारिएको र दुईवटामा चढेर जाँच गरिएको जनाएको छ । अगस्ट ३१ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा खार्ग टापु ध्वस्त पारिएको देखाउने कृत्रिम बुद्धिमत्ता प्रयोग गरिएको भिडियोसहित छोटो सन्देश पोस्ट गरेका थिए । खार्गमाथि आक्रमण भए कडा जवाफ दिने चेतावनी इरानी अधिकारीहरूले दिएका छन् ।