रुसको उत्तरी ककेशसस्थित काबार्डिनो–बाल्कारिया क्षेत्रमा हिमपहिरो जाँदा कम्तीमा ११ जना पर्वतारोहीको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । स्थानीय आपत्कालीन सेवाका अनुसार आइतबार साँझ करिब ५ बजे रुसको उत्तरी ककेशसको अग्ला हिमशिखरमध्ये एक मिजिर्गी पर्वतमा हिमपहिरो खसेको थियो । हिमपहिरोले ३३ जना पर्वतारोही रहेको समूहलाई प्रभावित पारेको थियो ।
सोमबार बिहान ९ बजेसम्म १० जना पर्वतारोही आफैँ सुरक्षित रूपमा पहाडबाट तल झर्न सफल भएका थिए । अन्य ६ जनाको अवस्था भने अज्ञात रहेको आपत्कालीन अधिकारीहरूले बताएका छन् ।
उद्धार तथा खोजी अभियानमा ५० भन्दा बढी आपत्कालीन उद्धारकर्मी परिचालन गरिएको छ । तर, कठिन भौगोलिक अवस्था र थप हिमपहिरो आउन सक्ने उच्च जोखिमका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको अधिकारीहरूले बताएका छन् ।