अस्ट्रेलियाली प्रधानमन्त्रीले भने– दुःखको घडीमा नेपाल एक्लो छैन

आप्रवासन आप्रवासन

 

 अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नेपालप्रति ऐक्यबद्धता जनाउँदै पीडितहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

नेपालले अगस्ट २६ मा भोटेकोशी नदीमा आएको विनाशकारी आकस्मिक बाढी पछि सोमबार राष्ट्रिय शोक मनाइरहेका बेला अस्ट्रेलियाली प्रधानमन्त्री अल्बानिजले संसदमा सम्बोधन गर्दै नेपालप्रति ऐक्यबद्धता व्यक्त गरेका हुन् ।

हिमनदी भत्किएपछि आएको बाढीले नेपाल–चीन सीमाको दुवैतर्फ ठुलो विनाश निम्त्याएको र यसको सबैभन्दा ठुलो असर नेपालले बेहोरेको अल्बानिजले बताए । विपद्का कारण धेरै मानिसले आफ्ना प्रियजन, घर, गाउँ तथा जीविकोपार्जन गुमाएको उनले उल्लेख गरे । ‘धेरै मानिस अहिले क्षतिको पीडासँग जुधिरहेका छन् । प्रियजन गुमाएको पीडा, घर गुमाएको पीडा, पूरै गाउँ र जीविकोपार्जन गुमाएको पीडा उनीहरूले भोगिरहेका छन्,’ अल्बानिजले संसदमा भने ।

सम्बोधनकै क्रममा आफूले शुक्रबार प्रधानमन्त्री बालेन्द्र शाहसँग फोनमा कुराकानी गरेको पनि उनले बताए । यस क्रममा अस्ट्रेलियाको तर्फबाट आफूले बाढी प्रभावित सबैलाई समवेदना व्यक्त गरेको उनले भने । ‘यस विपद्बाट प्रभावित सबै नेपालीप्रति अस्ट्रेलियाको तर्फबाट म गहिरो समवेदना व्यक्त गर्छु,’ उनले भने ।

‘आज नेपालले राष्ट्रिय शोक मनाइरहेको छ । म हाम्रा नेपाली साथीहरूलाई भन्न चाहन्छु– उनीहरूले यो भार एक्लै बोक्नुपर्दैन । हाम्रो विचार उनीहरू र यस विपद्बाट प्रभावित सबैसँग छ,’ उनले भने ।

बाढीमा परेर ३६ जना अस्ट्रेलियाली नागरिक अझै सम्पर्कविहीन रहेको अल्बानिजले बताए । बेपत्ता अस्ट्रेलियाली नागरिकका परिवार र साथीहरूप्रति सबै अस्ट्रेलियाली जनताको साथ रहेको भन्दै बेपत्ताहरूको खोजी तथा सकुशल फिर्तीको लागि प्रार्थना गर्न पनि उनले अस्ट्रेलियाली नागरिकलाई आग्रह गरे ।

विपद् प्रभावितका लागि आपत्कालीन सहयोग अभियानमा आर्थिक सहयोग गर्ने अस्ट्रेलियाली नागरिकलाई पनि उनले धन्यवाद दिए । विपद्का बेला प्राप्त सहयोगले मानवताको साझा भावना र सङ्कटमा एक अर्कालाई साथ दिने प्रतिबद्धता देखाएको उनको भनाइ थियो ।

‘हामीले सामना गर्ने चुनौती जति ठुलो भए पनि त्यसको सामना हामी सबैले मिलेर, मानवताको साझा भावनासहित गर्छौं,’ अल्बानिजले संसदमा भने ।