दिल्लीमा होस्टल भवन भत्किँदा ७ जनाको मृत्यु

आप्रवासन आप्रवासन

 

भारतको राजधानी नयाँ दिल्लीमा पाँच तले भवन भत्किँदा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । घटनापछि फरार रहेका भवनका मालिक हरिराम बंसललाई प्रहरीले राजस्थानको भिवाडीबाट हिरासतमा लिएको छ ।

प्रहरीले यसअघि उनी विरुद्ध लुकआउट नोटिस जारी गरेको थियो । दिल्ली विश्वविद्यालयको साउथ क्याम्पस नजिकै सत्य निकेतन क्षेत्रमा आइतबार दिउँसो करिब १ः ३० बजे पाँच तले भवन अचानक भत्किएको थियो । भवनमा पीजी तथा होस्टल सञ्चालन हुँदै आएको बताइएको छ ।

उद्धार टोलीले सोमबार बिहान भग्नावशेषबाट थप एक जनाको शव निकालेको थियो । घटनामा अहिलेसम्म ७ जनाको मृत्यु भएको छ भने १२ जनालाई जीवितै उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

भवनको भग्नावशेषमा अझै केही व्यक्ति फसेको हुनसक्ने आशङ्का गरिएको छ । उनीहरूको खोजीका लागि उद्धार टोलीले तालिम प्राप्त कुकुर र विशेष क्यामेराको प्रयोग गरिरहेको छ । घटनास्थलमा उद्धार तथा खोजी कार्य जारी छ । स्थानीय बासिन्दाका अनुसार दुर्घटना अघि भवनको बेसमेन्टमा करिब सात दिनदेखि तोडफोड तथा निर्माणसम्बन्धी काम भइरहेको थियो । उनीहरूका अनुसार बेसमेन्ट पहिल्यै कमजोर अवस्थामा थियो र त्यहाँ पानी समेत जमेको थियो ।

बेसमेन्टमा भइरहेको कामका क्रममा एउटा पिल्लर खस्किएपछि भवनको संरचनामा गम्भीर असर परेको र त्यसपछि पूरै पाँच तले भवन ढलेको स्थानीयको भनाइ छ । भवन भत्किँदा त्यहाँ काम गरिरहेका मजदुरसमेत भग्नावशेषमा पुरिएका थिए ।