डढेलो र अत्यधिक गर्मीले वायु प्रदूषणको जोखिम बढाउँदै

आप्रवासन आप्रवासन

 

विश्व मौसम संगठनले डढेलो र अत्यधिक गर्मीका कारण वायु प्रदूषणको जोखिम बढ्दै गएको जनाएको छ । संगठनले सार्वजनिक गरेको वार्षिक ‘वायु गुणस्तर तथा जलवायु बुलेटिन’ मा वायु प्रदूषण र जलवायु परिवर्तनबिच गहिरो सम्बन्ध रहेको उल्लेख गरिएको छ।

जलवायु परिवर्तनका कारण अत्यधिक गर्मी तथा डढेलोको आवृत्ति र तीव्रता बढ्दै जाँदा मानव स्वास्थ्य र प्राकृतिक वातावरणमा थप खतरा उत्पन्न भएको छ। डढेलोबाट निस्कने धुवाँमा २.५ माइक्रोमिटरभन्दा साना सूक्ष्म कण हुन्छन्। यस्ता कण फोक्सोको गहिराइसम्म पुग्नुका साथै रक्तसञ्चार प्रणालीमा समेत प्रवेश गर्न सक्ने भएकाले स्वास्थ्यका लागि अत्यन्त जोखिमपूर्ण मानिन्छन्।

डढेलोको धुवाँ हावासँगै टाढासम्म फैलिने भएकाले आगलागी भएको स्थानभन्दा धेरै टाढाका मानिस र वन्यजन्तु पनि प्रभावित हुन सक्छन् । अध्ययनअनुसार सन् १९९० को दशकयता अत्यधिक डढेलोबाट उत्पन्न धुवाँका घटना तीन गुणासम्म बढेका छन्।

त्यस्तै, अत्यधिक गर्मीका समयमा सतह नजिकको ओजोन प्रदूषण पनि बढ्न सक्छ। यसले विशेषगरी श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम बढाउँछ। कालो कार्बन र सूक्ष्म प्लास्टिक पनि वातावरणका बढ्दो चुनौती बनेका छन्। कालो कार्बन हिउँ तथा बरफमा जम्मा हुँदा पग्लिने प्रक्रिया तीव्र बनाउन सक्छ भने सूक्ष्म प्लास्टिक हावा, माटो र समुद्रमा फैलिँदै गएको छ।

विश्व मौसम संगठनले वायु प्रदूषण नियन्त्रण र जलवायु परिवर्तन न्यूनीकरणलाई अलग–अलग नभई समन्वित रूपमा सम्बोधन गर्न दीर्घकालीन नीति आवश्यक रहेकोमा जोड दिएको छ।