बिजुली संकटमा क्युबालीको जुगाड : सौर्य ऊर्जादेखि कोइलोको चुलोसम्म

आप्रवासन आप्रवासन

क्युबामा इन्धन र विद्युत् अभाव गहिरिँदै गएपछि सर्वसाधारणले दैनिक जीवन चलाउन नयाँ–नयाँ उपाय अपनाउन थालेका छन् । लामो समयसम्म हुने विद्युत् कटौतीबीच मोबाइल चार्ज गर्नेदेखि खाना जोगाउने र यातायात सञ्चालन गर्नेसम्मका उपाय सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।

हवानाका कम्प्युटर साइन्सका विद्यार्थी तथा कन्टेन्ट क्रिएटर दायान मारेरोले विद्युत् कटौतीसँग जुध्ने घरेलु उपायहरूबारे भिडियो बनाउँदै आएका छन् । मोबाइल नेटवर्कको कमजोर इन्टरनेट सिग्नल टिप्न घरमै एन्टेना बनाउने उनको एउटा भिडियो करिब ८ लाख पटक हेरिएको छ । क्युबामा इन्धनको अभावका कारण किसानले दूध पाश्चराइज गर्न कोइलाको आगो प्रयोग गरिरहेका छन् । पर्यटकको संख्या घटे पनि केही व्यवसायीले सौर्य प्यानल र ब्याट्रीको सहायताले आफ्नो काम धानिरहेका छन् ।

विनालेसका पर्यटन व्यवसायी ओसिरिस हर्नान्डेजले घरमै पर्यटकका लागि कोठा तयार गरेका छन् । विद्युत् नहुँदा कोइलामा खाना पकाउने, हातैले कफी पिस्ने र सौर्य ऊर्जाबाट चल्ने इन्भर्टर प्रयोग गरेर कम्तीमा एउटा फ्रिजर सञ्चालन गर्ने गरेका छन् ।

क्युबाको पर्यटन क्षेत्र पनि संकटको मारमा परेको छ । सरकारी तथ्यांकअनुसार जनवरीदेखि जुलाईसम्म पर्यटक आगमन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६२ प्रतिशतले घटेको छ । पर्यटक घटेसँगै स्थानीय उत्पादनको माग र पर्यटन व्यवसाय दुवै प्रभावित भएका छन् । यातायातमा भने सौर्य ऊर्जाबाट चल्ने विद्युतीय ट्राइसाइकल नयाँ विकल्प बनेका छन् । करिब १८ लाख जनसंख्या रहेको हवानामा बसको अभावबीच यस्ता निजी विद्युतीय सवारीले यात्रु ओसारिरहेका छन् । केही ट्राइसाइकलका ब्याट्री विद्युत् उपलब्ध हुँदा ग्रिडबाट र घाम लागेको बेला छानामा जडान गरिएको सौर्य प्यानलबाट चार्ज गर्न सकिन्छ ।

क्युबाको संकटले दैनिक जीवन कठिन बनाए पनि मारेरोजस्ता युवादेखि किसान र यातायात व्यवसायीसम्मले सीमित स्रोतबाट समाधान खोजिरहेका छन् । विद्युत् र इन्धनको अभावबीच उनीहरूको सन्देश एउटै छ—संकट जति गहिरिए पनि जुगाड र सिर्जनशीलताको बाटो बन्द भएको छैन ।