अमेरिकाको फ्लोरिडास्थित टाइटसभिलमा सानो विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ ।
मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजनको कार्गो विमान धावनमार्गबाट बाहिरिएको घटनाको २४ घण्टा नबित्दै सोमबार स्पेस कोस्ट रिजनल एयरपोर्ट नजिकै एकल इन्जिन भएको विमान दुर्घटनामा परेको हो । स्थानीय अधिकारीहरूका अनुसार दुर्घटनाग्रस्त विमानमा पाइलट मात्र सवार थिए । टाइटसभिल फायर डिपार्टमेन्टका अनुसार प्रत्यक्षदर्शीहरूले विमान दुर्घटनाअघि विद्युत् प्रसारण लाइनमा ठोक्किएको बताएका छन् । त्यसपछि विमान सडकमा खसेर दुर्घटनाग्रस्त भएको थियो ।
दुर्घटनापछि सडकको दुवैतर्फको यातायात बन्द गरिएको थियो । घटनाको भिडियोमा सडकमा विमान आगोले जलेको अवस्थामा देखिन्छ ।
राष्ट्रिय यातायात सुरक्षा बोर्ड (एनटीएसबी)का अनुसार दुर्घटनामा परेको विमान मोनी एम२०एफ मोडलको चार सिटे प्रोपेलर विमान हो । दुर्घटना फ्लोरिडाको पूर्वी तटीय क्षेत्रमा स्थानीय समयअनुसार बिहान करिब १० बजे भएको हो । दुर्घटनास्थल ओर्लान्डोबाट करिब ४० माइल अर्थात् ६४ किलोमिटर पूर्वमा पर्छ ।
दुर्घटनाको प्रकृतिका कारण मृतक पाइलटको पहिचान तत्काल पुष्टि गर्न नसकिएको टाइटसभिल फायर डिपार्टमेन्टले जनाएको छ । सावधानीस्वरूप फ्लोरिडा पावर एन्ड लाइटले आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द गरेको थियो । घटनाको अनुसन्धानमा एनटीएसबीसँगै संघीय उड्डयन प्रशासन (एफएए) पनि संलग्न भएको छ ।
यसअघि मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा अमेजनको कार्गो विमान धावनमार्गबाट बाहिरिँदा भएको दुर्घटनामा पाँच जनाको मृत्यु र पाँच जना गम्भीर घाइते भएका थिए ।