राष्ट्रसङ्घको ८१ औँ महासभामा सुरु हुँदै

आप्रवासन आप्रवासन

 

संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभा आजदेखि अमेरिकाको न्युयोर्क सहरमा सुरु हुँदैछ।

यसपटकको महासभाका लागि ‘विश्वासको पुनःस्थापना, रूपान्तरणको व्यवस्थापनः सबैका लागि कार्य गर्ने संयुक्त राष्ट्रसङ्घ’ भन्ने मुख्य नारा तय गरिएको छ।

महासभाको सबैभन्दा महत्त्वपूर्ण कार्यक्रम सेप्टेम्बर १८ देखि २८ सम्म सञ्चालन हुनेछ। सो अवसरमा विश्व स्वास्थ्य, शान्ति, सुरक्षा तथा मानवीय सहायतालगायतका विविध विषयमाथि छलफल हुनेछ। सेप्टेम्बर २२ देखि २६ तारिखसम्म विश्वभरका सदस्य राष्ट्रका सरकार प्रमुखहरूले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

हासभाअन्तर्गत सेप्टेम्बर १८ मा दिगो विकासका लक्ष्यहरूका बारेमा छलफल हुनेछ। जहाँ समुदाय, राष्ट्र र क्षेत्रीय रूपमा भइरहेका मानव तथा भौतिक विकासका साथै विश्वव्यापी कार्यप्रगतिको समीक्षा गरिनेछ।

त्यसैगरी, सेप्टेम्बर २३ मा जलवायु परिवर्तनको मुद्दालाई सम्बोधन गर्न विशेष जलवायु सम्मेलनको आयोजना हुनेछ। सम्मेलनमा राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले जलवायु परिवर्तनको असर, विकसित राष्ट्रहरूको भूमिका, प्रभावित देशहरूको अवस्था तथा ऊर्जा उत्पादनका विषयमा मजबुत सहकार्यका लागि आह्वान गर्ने राष्ट्रसङ्घले जनाएको छ।

जलवायु परिवर्तनबाट प्रत्यक्ष प्रभावित नेपालले कार्बन उत्सर्जनमा कम योगदान गरेका देशहरूको आवाजलाई महासभामा प्राथमिकताका साथ उठाउने भएको छ। नेपालले जलवायु न्याय, प्राकृतिक सम्पदा र ऊर्जा क्षेत्रमा परेको क्षति तथा क्षतिपूर्तिको मागलाई मुख्य एजेन्डा बनाउनेछ।

हाल विश्वमा जारी विविध युद्धका कारण आर्थिक, भौतिक र सामाजिक क्षति गहिरिँदै गएकाले यस महासभामा ती विषयमा पनि आवश्यक छलफल एवं परामर्श हुने अपेक्षा गरिएको छ।

राष्ट्रसङ्घीय कार्यसूचीअनुसार यसपटकको ८१ औँ सेसनको अध्यक्षता बङ्गलादेशका कूटनीतिज्ञ खालिलुर रहमानले गर्नेछन्।