इरानद्वारा जोर्डनतर्फ क्षेप्यास्त्र प्रहार, अमेरिकाले पाँच इरानी तेल ट्यांकर ध्वस्त पारेपछि तनाव चुलियो

आप्रवासन आप्रवासन

अमेरिकी सेनाले पाँचवटा इरानी तेल ट्यांकरमाथि हमला गरेपछि इरानले त्यसको जवाफमा जोर्डनतर्फ ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । अमेरिकी सैन्य उपस्थितिसँग जोडिएको भन्दै उसले जोर्डनलाई आक्रमण गरेको हो । यी घटनाक्रमसँगै अमेरिका र इरानबीच जारी सैन्य तनाव थप गहिरिएको छ र मध्यपूर्वमा द्वन्द्व फैलिने जोखिम बढेको छ ।

अमेरिकी सेनाको सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार, इरानले पछिल्ला दुई दिनमा अमेरिकी नौसेनाको एउटा युद्धपोतलाई दुईपटक ब्यालिस्टिक क्षेप्यास्त्रबाट निशाना लगाउने प्रयास गरेको थियो । दुवै प्रयास असफल भएको र अमेरिकी युद्धपोतले आक्रमणबाट बचेर क्षेत्रीय जलक्षेत्रमा आफ्नो गस्तीलाई निरन्तरता दिएको सेन्टकमले जनाएको छ । ती घटनामा कुनै पनि अमेरिकी सैनिक घाइते नभएको बताइएको छ ।

त्यसपछि अमेरिकी सेनाले ओमानको खाडीमा रहेका चारवटा कच्चा तेल बोक्ने ट्यांकर र फारसको खाडीमा इरानको महत्वपूर्ण तेल निर्यात केन्द्र खार्ग टापुनजिक रहेको अर्को ट्यांकरमाथि आक्रमण गरेको हो । अमेरिकी सेनाका अनुसार आक्रमण गर्नुअघि ती जहाजका चालक दललाई जहाज छाड्न निर्देशन दिइएको थियो ।

जोर्डनमाथि इरानको क्षेप्यास्त्र हमला

अमेरिकी आक्रमणपछि इरानले जोर्डनलाई निशाना बनाएको हो । इरानले जोर्डनस्थित मुवाफ्फक सल्ती एयर बेसलाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । उक्त हवाई आधार अमेरिकी सेनाले प्रयोग गर्ने प्रमुख क्षेत्रीय सैन्य सुविधामध्ये एक हो ।

जोर्डनको सेनाका अनुसार इरानले प्रहार गरेका २० ब्यालिस्टिक क्षेप्यास्त्रमध्ये १८ वटा जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले आकाशमै रोकिदिएको थियो । बाँकी दुई क्षेप्यास्त्र भने मानिसको बसोबास नभएका क्षेत्रमा खसेका थिए । आक्रमणबाट कुनै मानवीय क्षति नभएको जोर्डनको सेनाले जनाएको छ ।

इरानले भने अमेरिकी सैन्य कारबाहीको प्रतिशोध जारी राख्ने संकेत दिएको छ । उसले बहराइन र कुवेतका बन्दरगाहनजिक रहेका तेल ट्यांकरलाई समेत चेतावनी दिएको छ ।

इरानी सरकारी प्रसारक आईआरआईबीले इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी) लाई उद्धृत गर्दै बहराइन र कुवेतका बन्दरगाहमा रहेका तेल ट्यांकरका चालक दललाई तत्काल जहाज छाड्न चेतावनी दिएको जनाएको छ । इरानले ती जहाजलाई अमेरिकी सैन्य गतिविधिमा सहयोग गर्ने देशसँग सम्बन्धित भन्दै भविष्यमा तिनलाई पनि निशाना बनाउन सक्ने चेतावनी दिएको छ ।

खार्ग टापुनजिकै ट्यांकरमा हमला

अमेरिकाले ध्वस्त पारेका ट्यांकरमध्ये एउटा इरानको तेल निर्यातको प्रमुख केन्द्र खार्ग टापुबाट करिब चार माइलको दूरीमा रहेको जनाइएको छ । अर्को ट्यांकर ओमानको खाडीस्थित जास्क तटबाट नजिकै आक्रमणमा परेको थियो । दुवै जहाजका चालक दललाई लाइफबोटमार्फत सुरक्षित रूपमा किनारतर्फ लगिएको बताइएको छ ।

खार्ग टापु इरानको तेल निर्यातका लागि अत्यन्त महत्वपूर्ण पूर्वाधार हो । त्यस क्षेत्रनजिक अमेरिकी सैन्य कारबाही हुनुले इरानको ऊर्जा निर्यात र स्ट्रेट अफ होर्मुज आसपासको समुद्री सुरक्षामाथि थप दबाब सिर्जना गरेको छ ।

‘इरानले अमेरिकी जहाजलाई निशाना बनाए हरेकपटक ट्यांकर गुमाउने’

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानलाई अमेरिकी नौसैनिक जहाजमाथि आक्रमणको प्रयास जारी राखे त्यसको मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् । कोलम्बियाको बारान्कियामा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले इरानले अमेरिकी नौसैनिक जहाजलाई निशाना बनाउन खोज्ने प्रत्येकपटक अमेरिकाले इरानी तेल ट्यांकरलाई निशाना बनाउने बताएका छन् ।

पछिल्लो अमेरिकी कारबाही सप्ताहन्तमा गरिएको अर्को सैन्य हमलापछि भएको हो । त्यसबेला आईआरजीसीले अमेरिकी विमानवाहक युद्धपोत र निर्देशित क्षेप्यास्त्रवाहक विध्वंसकलाई निशाना बनाउने प्रयास गरेको अमेरिकी पक्षको दाबी थियो । त्यसपछि अमेरिकाले तीनवटा इरानी कच्चा तेल ट्यांकरमाथि कारबाही गरेको थियो ।

यसरी हेर्दा केही दिनमै अमेरिकी र इरानी सेनाबीच समुद्री क्षेत्रमा प्रत्यक्ष टकरावका घटना बढिरहेका छन् ।

स्ट्रेट अफ होर्मुजमा अमेरिकी दबाब

अमेरिकाले इरानमाथि आर्थिक तथा सैन्य दबाब बढाउने रणनीतिअन्तर्गत स्ट्रेट अफ होर्मुज वरिपरिका क्षेत्रमा आफ्नो ध्यान केन्द्रित गरेको छ । विश्वको महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक रहेको यो जलमार्गबाट ठूलो परिमाणमा अन्तर्राष्ट्रिय तेल तथा ग्यास ढुवानी हुने गर्छ ।

अमेरिकी सेनाले व्यावसायिक जहाजलाई उक्त जलमार्ग पार गर्न सुरक्षा प्रदान गर्ने, इरानी बन्दरगाहमाथि नौसैनिक नाकाबन्दी कायम राख्ने र इरानको तेल निर्यातलाई कमजोर पार्ने प्रयास गरिरहेको छ । यसको उद्देश्य इरानी सरकारमाथि आर्थिक दबाब बढाउनु रहेको अमेरिकी प्रशासनको भनाइ छ ।

तर इरानले यस्तो कदमलाई आफ्नो सार्वभौमिकतामाथिको आक्रमणका रूपमा लिँदै प्रतिरोध गर्ने संकेत दिएको छ । जोर्डनतर्फ गरिएको क्षेप्यास्त्र प्रहारले अब संघर्ष प्रत्यक्ष रूपमा इरान–अमेरिका सीमाबाट बाहिर क्षेत्रीय मुलुकहरूमा समेत फैलिन सक्ने चिन्ता बढाएको छ ।

इरानी एयरलाइन्समाथि पनि अमेरिकी प्रतिबन्ध

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले इरानमाथि आर्थिक दबाब थप कडा बनाउँदै इरानी विमान उद्योगमाथि व्यापक प्रतिबन्ध घोषणा गरेको छ ।

मंगलबार घोषणा गरिएका प्रतिबन्ध २७ वटा इरानी एयरलाइन्स तथा नौवटा सेवा प्रदायक र बिक्री एजेन्टलाई लक्षित छन् । उनीहरूले सन् २०११ देखि अमेरिकी प्रतिबन्धमा रहेको इरानी निजी विमान कम्पनी महान एयरलाई सेवा तथा सहयोग उपलब्ध गराएको अमेरिकी आरोप छ । महान एयरले इरानी इस्लामिक रिभोलुसनरी गार्ड कप्र्सलाई महत्वपूर्ण सहयोग उपलब्ध गराउने गरेको अमेरिकी पक्षको आरोप छ ।

यसरी एकातिर अमेरिकाले इरानको तेल निर्यात, समुद्री व्यापार र हवाई उद्योगमाथि दबाब बढाइरहेको छ । अर्कोतर्फ इरानले अमेरिकी सैन्य संरचना र उसका क्षेत्रीय सहयोगीलाई निशाना बनाउने चेतावनी दिइरहेको छ । जोर्डनमाथिको पछिल्लो क्षेप्यास्त्र हमला र पाँच इरानी ट्यांकरमाथिको अमेरिकी कारबाहीले मध्यपूर्वको संकटलाई नयाँ र थप खतरनाक चरणमा पुर्‍याएको छ । यदि यस्ता प्रतिशोधात्मक कारबाही बढ्दै गए भने इरान र अमेरिकाबीचको द्वन्द्व अन्य खाडी मुलुक तथा विश्वव्यापी ऊर्जा बजारसम्म फैलिन सक्ने जोखिम रहेको छ ।