बेलायतमा १ हजारभन्दा बढी उडान रद्द

आप्रवासन आप्रवासन

 

बेलायतमा एयर ट्राफिक कन्ट्रोल सिस्टममा आएको प्राविधिक समस्याका कारण १ हजारभन्दा बढी उडान रद्द भएका छन् । मङ्गलवार रातिसम्म सिस्टममा देखिएको खराबीका कारण बेलायतसहित युरोपका विभिन्न स्थानमा हवाई सेवा प्रभावित भएको हो । 

फ्लाइट निगरानी वेबसाइट फ्लाइट राडार २४ का अनुसार प्राविधिक समस्याका कारण १ हजारभन्दा बढी उडान रद्द भएका थिए । बेलायतको नेसनल एयर ट्राफिक सर्भिसेसले पनि समस्याका कारण विमानको टेकअफ प्रभावित भएको जनाएको छ । पछिल्लो समय भने फ्लाइट सिस्टम क्रमशः सामान्य अवस्थामा फर्किरहेको बताइएको छ ।

फ्लाइट राडार २४ का अनुसार ब्रिटिस एयरवेज, ईजीजेट, केएलएम र लुफ्थान्सासहित पाँचभन्दा बढी एयरलाइन्सका उडान प्रभावित भएका छन् । समस्याको प्रभाव लन्डनका हिथ्रो, ग्याटविक र स्टानस्टेड विमानस्थलमा देखिएको थियो । ईस्ट मिडल्यान्ड्स क्षेत्रका विमानस्थलहरूमा समेत उडानको टेकअफ र ल्यान्डिङ तालिका प्रभावित भएको थियो । समस्या गम्भीर बनेपछि केही विमानलाई युरोपका अन्य विमानस्थलतर्फ डाइभर्टसमेत गर्नुपरेको थियो ।

बजेट एयरलाइन्स ईजीजेटले आफ्ना केही उडान सञ्चालन गर्न नसकिएको जनाएको छ । कम्पनीका अनुसार एयर ट्राफिक कन्ट्रोल सिस्टममा आएको खराबीका कारण युरोपभर उसका उडानहरूमा ढिलाइ भएको थियो ।

हिथ्रो विमानस्थलको वेबसाइटमा मङ्गलबार युरोपका विभिन्न सहरतर्फ जाने धेरै छोटो दूरीका उडान रद्द वा ढिला भएको देखिएको थियो । यद्यपि, विमानस्थलमा आइपुग्ने उडानहरूमा भने त्यस्तो प्रभाव नदेखिएको बताइएको छ । एयर ट्राफिक कन्ट्रोल सिस्टममा प्राविधिक खराबी आउनुको वास्तविक कारण भने अझै स्पष्ट भएको छैन ।