जोर्डनमा इरानी क्षेप्यास्त्र प्रहार : अमेरिकी सेनाका नौ वटा लडाकु विमानमा क्षति

आप्रवासन आप्रवासन

इरानले जोर्डनस्थित अमेरिकी सैन्य हवाई अड्डामा गरेको क्षेप्यास्त्र हमलामा अमेरिकी सेनाको कम्तीमा एक थान ए–१० थन्डरबोल्ट–२ आक्रमण विमान र करिब आठ थान एफ–१५ई स्ट्राइक ईगल लडाकु विमानमा क्षति पुगेको छ। 

एयर एन्ड स्पेस फोर्सेस म्यागजिनका अनुसार सेप्टेम्बर ८ मा इरानले जोर्डनस्थित मुवाफ्फाक साल्टी हवाई अड्डामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।  उक्त हमलामा ए–१० विमानको पखेटामा गम्भीर क्षति पुगेको छ भने करिब आठ एफ–१५ई विमानमा सामान्य क्षति भएको छ। क्षति पुगेको भए पनि ती एफ–१५ विमान अझै सञ्चालनयोग्य मानिएका छन्।

अमेरिकी अधिकारीहरूसँग परिचित स्रोतहरूले विमानमा भएको क्षतिको जानकारी दिएका हुन्। अमेरिकी सेनाको सेन्ट्रल कमान्डले भने घटनाबारे तत्काल प्रतिक्रिया दिएको छैन। अमेरिकाले सेप्टेम्बर ८ मा पाँच वटा इरानी तेल ट्याङ्करमाथि आक्रमण गरेपछि त्यसको जवाफमा इरानले पश्चिम एसियामा रहेका अमेरिकी सैन्य अड्डा तथा उसका सहयोगी देशका क्षेत्रमा ठुलो सङ्ख्यामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो।

इरानी हमलामध्ये जोर्डनमा रहेका अमेरिकी सेनामाथिको हमला सबैभन्दा तीव्र भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्। इरानी क्षेप्यास्त्र रोक्न अमेरिकी र जोर्डनी सेनाले दर्जनौँ इन्टरसेप्टर अर्थात् क्षेप्यास्त्र प्रतिरोधी प्रणाली प्रयोग गरेका थिए। अमेरिकी अधिकारीहरूका अनुसार उक्त हमलामा कुनै पनि अमेरिकी सैनिकको मृत्यु नभए पनि सैन्य सामग्रीमा भने क्षति पुगेको छ। 

हमलापछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले जोर्डनस्थित अमेरिकी हवाई अड्डामा रहेका अमेरिकी युद्धक विमानमा क्षति पुर्‍याएको दाबी गरेको थियो। पछिल्लो विवरणले पनि कम्तीमा केही अमेरिकी विमानमा क्षति पुगेको पुष्टि गरेको छ।

मुवाफ्फाक साल्टी हवाई अड्डा अमेरिकी हवाई कारबाहीका लागि महत्त्वपूर्ण केन्द्रका रूपमा प्रयोग हुँदै आएको छ। उक्त अड्डाबाट इरानविरुद्धका अमेरिकी सैन्य अभियानमा सहभागी दर्जनौँ युद्धक विमान सञ्चालन हुँदै आएका छन्। यसअघि जुलाईमा पनि यही हवाई अड्डामाथि भएको इरानी क्षेप्यास्त्र हमलामा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको थियो।