चीनको पूर्वी क्षेत्रमा रहेको एक बन्दरगाहमा मालवाहक जहाजमा भीषण आगलागी हुँदा ठुलो मानवीय क्षति भएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । आगलागी भएको जहाज विदेशी झन्डा बोकेको मालवाहक जहाज रहेको बताइएको छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार छिङदाओ सहरस्थित एक सिपयार्डमा मर्मतका लागि राखिएको जहाजमा स्थानीय समयअनुसार बिहान ११ः १५ बजे आगलागी भएको हो । आगलागी पछि जहाजमा रहेका केही मानिस फसेको बताइएको छ ।
घटनापछि चिनियाँ राष्ट्रपति सी चिनफिङले तत्काल खोज तथा उद्धार अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् । उनले घटनाको शीघ्र अनुसन्धान गर्न समेत निर्देशन दिएको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएको छ । प्रधानमन्त्री ली छ्याङले जहाजभित्र फसेका मानिसलाई तत्काल उद्धार गर्न निर्देशन दिएका छन् । उनले उद्धार अभियानका क्रममा थप क्षति हुन नदिन र ‘दोस्रो चरणका विपत्ति’ रोक्न विशेष ध्यान दिन आग्रह गरेका छन् ।