युगान्डाको परम्परागत टोरो राज्यको नयाँ राजा पत्रकार समेत रहेका एडवर्ड रुकिडी किजानाङ्गोमा बन्ने भएका छन् ।
टोरो राज्यको चयन समितिले बुधबार किजानाङ्गोमालाई नयाँ राजाका रूपमा घोषणा गरेको हो । उनी युगान्डाको सरकारी प्रसारण संस्था युगान्डा ब्रोडकास्टिङ कर्पोरेसन (युबिसि) मा समाचारवाचक तथा सम्पादकका रूपमा कार्यरत थिए ।
किजानाङ्गोमा दिवंगत राजा ओयो न्यिम्बा कबाम्बा इगुरु रुकिडी चौथोका नातेदार हुन् । गत महिना ३४ वर्षको उमेरमा क्यान्सरका कारण ओयोको निधन भएपछि टोरो राज्यले नयाँ उत्तराधिकारी चयन प्रक्रिया अघि बढाएको थियो ।
उनको अन्त्येष्टि शनिवार हुने र त्यसमा दसौँ हजार मानिस सहभागी हुने अपेक्षा गरिएको छ ।
तर नयाँ राजा चयनको निर्णय विवादरहित भने देखिएको छैन ।
राजा ओयो अविवाहित अवस्थामा निधन भएका थिए । युगान्डाका राष्ट्रपति योवेरी मुसेभेनीले ओयोले विवाहबाहिर जन्मिएको एक उत्तराधिकारी छाडेको बताएका थिए । तर टोरोको चयन समितिले उक्त दाबीलाई आधार नबनाई किजानाङ्गोमालाई नयाँ उत्तराधिकारीका रूपमा चयन गरेको हो ।
ओयोकी बहिनी रुथ कोमुन्टालेले भने निर्णयप्रति असन्तुष्टि जनाएकी छन् । स्थानीय प्रसारक एनबीएससँग कुरा गर्दै उनले आफूहरू निकै निराश भएको बताइन् । उनका अनुसार ओयोको लिखित इच्छापत्रमा उनले आफ्नो उत्तराधिकारी छाडेको स्पष्ट उल्लेख गरेका थिए ।
उनले नयाँ निर्णयले राजपरिवार र समर्थकबीच विभाजन तथा अशान्ति निम्त्याउन सक्ने चेतावनी दिएकी छन् । ओयोका समर्थकले निर्णयलाई चुनौती दिएमा कानुनी विवादसमेत उत्पन्न हुन सक्ने बताइएको छ ।
तीन वर्षमै बनेका थिए राजा
ओयो सन् १९९५ मा आफ्ना बुबाको निधनपछि तीन वर्षको उमेरमै टोरोको राजा बनेका थिए । त्यसपछि उनी विश्वकै सबैभन्दा कम उमेरका राजाका रूपमा अन्तर्राष्ट्रिय चर्चामा आए ।
राज्याभिषेकका क्रममा उनले टोरो समुदायका विभिन्न परम्परागत संस्कार पूरा गरेका थिए । वयस्क नभएसम्म उनको राज्य सञ्चालनका लागि संरक्षकहरू नियुक्त गरिएको थियो ।
उनी १८ वर्ष पुगेपछि सन् २०१० मा राज्यका पूर्ण जिम्मेवारी सम्हाल्न थालेका थिए ।
बाल्यकालदेखि नै सार्वजनिक आकर्षण बनेका ओयोले दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेलालगायत विभिन्न विश्व नेतासँग भेट गरेका थिए ।
लिबियाका तत्कालीन नेता मुअम्मर गद्दाफी पनि टोरो राजपरिवारसँग निकट थिए र उनले ओयो तथा उनकी आमालाई लामो समय सहयोग गरेका थिए ।
सांस्कृतिक भूमिका मात्रै
टोरो युगान्डा सरकारले मान्यता दिएका पाँच परम्परागत राज्यमध्ये एक हो । यस्ता राज्यसँग अहिले कुनै औपचारिक राजनीतिक वा सार्वभौम अधिकार छैन ।
युगान्डा स्वतन्त्र भएपछि परम्परागत राजसंस्था प्रतिबन्धित गरिएको थियो । तर सन् १९९३ मा ती राज्यहरू पुनःस्थापित गरिए । अहिलेका राजाहरूलाई दलगत राजनीतिमा संलग्न हुने अधिकार छैन । उनीहरू मुख्यतः समुदायको संस्कृति, परम्परा र पहिचानका संरक्षकका रूपमा भूमिका निर्वाह गर्छन् ।