फ्रान्समा छोराको शिक्षिकालाई मार्ने धम्की दिने पितालाई ६ महिनाको जेल सजाय

आप्रवासन आप्रवासन

फ्रान्समा छोराको शिक्षिकालाई मार्ने धम्की दिने एक व्यक्तिलाई अदालतले ६ महिनाको जेल सजाय सुनाएको छ । यो घटना फ्रान्सको दक्षिणपश्चिमी सहर टुलुज नजिकैको करिब २ हजार ६ सय जनसंख्या रहेको ले फागा गाउँको हो । 

धम्की दिएको ६ दिनपछि बिहीबार ती व्यक्तिमाथि फाष्ट–ट्र्याक सुनुवाइमार्फत सजाय सुनाइएको हो । आफ्नो छोरालाई अनुशासनमा राखेको भन्दै ती पुरुषले शिक्षिकालाई धम्क्याएका थिए । यस घटनापछि धम्की पाएकी शिक्षिकालाई सरकारी सुरक्षा प्रदान गरिएको छ । स्वास्थ्यको कारण देखाउँदै उनी बिदामा बसेकी छिन् ।

‘आफ्नो जिम्मेवारी पूरा गर्न कुनै पनि शिक्षक/शिक्षिकाले डराउनुपर्दैन ।’ फ्रान्सका शिक्षामन्त्री एडुआर्ड गेफ्रेले भनेका छन् । यिनीहरूमाथि आक्रमण गर्नु भनेको देशको समग्र शिक्षा प्रणालीमाथिको आक्रमण भएको टिप्पणी पनि उनले गरे । गएको गर्मीयाममा फ्रान्सले विद्यार्थीका परिवारका सदस्यबाट शिक्षक तथा विद्यालयका कर्मचारीलाई गम्भीर सुरक्षा जोखिम उत्पन्न भएमा उनीहरूको सुरक्षाका लागि नयाँ कानुनी व्यवस्था गरेको थियो । पछिल्लो घटनामा यही व्यवस्थाको प्रारम्भिक प्रयोग हुने गेफ्रेले बताए ।

स्थानीय शिक्षा अधिकारी करिम बेन्मिलुदका अनुसार विद्यालयले अभिभावकलाई बोलाएर छोराको व्यवहारबारे छलफल गरेपछि ती व्यक्तिले शिक्षिकालाई धम्की दिएका थिए । आरोपीका छोराले कक्षामा अध्ययन अध्यापनमा साहैै खलल पुर्याएपछि शान्त होला भनेर शिक्षिकाले ती बालकलाई अर्को कक्षामा पठाएका थिए । तर त्यहाँ पनि उनले दूरव्यवहार गर्न छाडेनन् । त्यसपछि शिक्षिकाले बालकलाई त्यसो नगर्न चेतावनी दिएका थिए ।

तर, त्यसपछि बालकका बाबुले विद्यालयबाहिर ढुकेर शिक्षिकालाई ज्यान मार्ने धम्की दिए । मेयरका अनुसार उनले शिक्षिकाको टाउको काटिदिने धम्कीसमेत दिएका थिए । घटनापछि ती अभिभावकले शिक्षिकासँग माफी मागे । तर विद्यालयले घटनाबारे प्रहरीमा उजुरी गरिसकेकोले उनलाई पक्राउ गरी मुद्दा अघि बढाइयो । बिहीबार टुलुजका सरकारी वकिलसमक्ष उपस्थित गराइएपछि अदालतले उनलाई ६ महिनाको जेल सजाय सुनाएको हो । सोही विद्यालयमा आरोपीको सानी छोरी पनि पढिरहेकी थिइन् । यस घटनापछि उनलाई ले फागाबाहिर अर्को विद्यालयमा सारिएको बताइएको छ ।