सिरियाली अधिकारीहरूले पूर्वराष्ट्रपति बशर अल–असदको शासनकालमा सर्वसाधारणविरुद्ध बमबारीमा संलग्न रहेको आरोपमा तीन जनरलसहित नौ जना पूर्व सैन्य पाइलटलाई लाटाकिया क्षेत्रमा पक्राउ गरेका छन् ।
सरकारी समाचार एजेन्सी सानाका अनुसार उनीहरूमाथि विभिन्न क्षेत्रमा युद्ध अपराध गरेको आरोप छ । उनीहरूले गरेको भनिएको हवाई आक्रमणबाट ठूलो सङ्ख्यामा मानिस हताहत हुनुका साथै घर तथा नागरिक पूर्वाधार नष्ट भएको र सर्वसाधारण विस्थापित भएको जनाइएको छ । पक्राउ पर्नेमा जनरल मेनहेल अनवर सालेह, सामी इब्राहिम महमुद र घयात अली रेयलगायत रहेका छन् ।
सिरियामा १३ वर्षभन्दा लामो गृहयुद्धका क्रममा पाँच लाखभन्दा बढी मानिसको मृत्यु भएको बताइन्छ । सन् २०२४ को डिसेम्बरमा असद सत्ताच्युत भएपछि नयाँ इस्लामवादी अधिकारीहरूले पूर्वसुरक्षा तथा सैनिक अधिकारीविरुद्ध कारबाही तीव्र पारेका छन् । दर्जनौँ अधिकारी पक्राउ परिसकेका छन् भने उनीहरूमाथि मुद्दासमेत चलाइएको छ ।
गत अगस्टमा सिरियाले पूर्वराष्ट्रपति असद, उहाँका भाइ महेर अल–असद तथा पाँच पूर्वसुरक्षा अधिकारीलाई गृहयुद्धका क्रममा भएका अत्याचारमा संलग्न रहेको आरोपमा अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । असद सत्ताच्युत भएपछि रूस भाग्नुभएको थियो र उहाँ हाल त्यहीँ बसिरहनुभएको विश्वास गरिएको छ ।