ब्रिक्स डिनरमा भारतीय स्वाद र संस्कृतिको झल्को : चिनोको पुलाउदेखि जेरीसम्म, १६० कलाकारको प्रस्तुति

आप्रवासन आप्रवासन

 

भारतमा जारी ब्रिक्स शिखर सम्मेलनमा सहभागी विश्वका नेताहरूले शनिबार भारतीय परिकारको स्वादसँगै स्थानीय कला र संस्कृतिको विविधता पनि अनुभव गरेका छन् । नयाँदिल्लीस्थित भारत मण्डपममा आयोजित रात्रिभोजमा भारतीय खानपान र सांस्कृतिक प्रस्तुतिलाई विशेष महत्त्व दिइएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आतिथ्यमा भएको रात्रिभोजमा शाकाहारी परिकारलाई प्राथमिकता दिइएको थियो । भारतले ‘श्री अन्न’ नाम दिएको मोटा अनाज –चिनो, कागुनो, कोदो, फापर आदि)लाई मेनुको विशेष आकर्षण बनाइएको थियो । यस्ता परम्परागत अनाजबाट तयार गरिएका परिकारसँगै हिमाली गुच्छी च्याउ, दक्षिण भारतीय तरकारी र विभिन्न मिठाई पाहुनालाई खुवाइएको थियो ।

भारतीय खानपानको क्षेत्रीय विविधता र परम्परागत अनाजको महत्त्व देखाउने उद्देश्यले तयार गरिएको मेनुमा गुजरातदेखि दक्षिण भारत र पुरानो दिल्लीसम्मका स्वाद समेटिएका थिए ।

मोटा अनाजलाई विशेष प्राथमिकता
रात्रिभोजको मेनुमा भारतले प्रवद्र्धन गर्दै आएको मोटा अनाजको प्रयोगलाई विशेष महत्त्व दिइएको थियो । चिनो लाई पुलावमा, जुनेलोलाई भारतीय रोटीमा र फापरलाई मिठाईमा प्रयोग गरिएको थियो ।

मोटा अनाजको प्रयोगले भारतीय खानपानमा परम्परागत अन्नको महत्त्व र विविधता देखाएको थियो । यी अनाजलाई आधुनिक खानपानसँग जोडेर अन्तर्राष्ट्रिय पाहुनासमक्ष प्रस्तुत गरिएको थियो ।

सुरुवाती परिकारमा खान्डवी र मशरूम कबाब

रात्रिभोजको सुरुवातमा पाहुनालाई दुई विशेष परिकार दिइएको थियो । खान्डवी मिल–फुई बेसनबाट बनाइएको रोल हो । यसलाई बाफमा पकाएर राई, नरिवल र करीपत्ताको तड्का दिइएको थियो । केसरयुक्त आँप, माइक्रोग्रिन्स र दहीको ड्रेसिङसँग परोसिएको यो परिकार गुजरातको खान्डवीबाट प्रेरित थियो ।

त्यस्तै, खुम्ब गलौटी नामक नरम मशरूम कबाब पनि मेनुमा समावेश थियो । हल्का सेकिएको मशरूम कबाबलाई पुदिनाका मोतीसँग शीरमाल रोटीमाथि राखेर प्रस्तुत गरिएको थियो ।

मुख्य भोजनमा क्षेत्रीय स्वादको संयोजन

मुख्य भोजनमा भारतका विभिन्न क्षेत्रका परिकार समेटिएका थिए । प्याज र गोलभेँडाको बाक्लो, मसलेदार ग्रेभीमा पकाइएको पनीर लबाबदार पाहुनालाई दिइएको थियो । त्यस्तै, हिमाली गुच्छी च्याउ र शतावरीलाई केसर, किसमिस तथा मामरा बदामसँग मन्द आँचमा पकाइएको गुच्छी मार्मिक पनि मेनुको हिस्सा थियो ।

दक्षिण भारतीय स्वादको प्रतिनिधित्व गर्ने गाजर–फली पोरियलमा गाजर र हरियो फलीलाई मसला तथा नरिवल तेलमा पकाएर ताजा नरिवलले सजाइएको थियो । तुअर दाल, ताजा गोलभेँडा र करीपत्ताबाट तयार गरिएको गोलभेँडा बेल्ले सारु नामक हल्का झोल पनि परोसिएको थियो ।

मुख्य भोजनमा चिनोसहितको पुलाउ विशेष आकर्षण थियो । बासमती चामल र चिनोलाई मसला तथा मौसमी सामग्रीसँग पकाएर तयार गरिएको यो परिकारले परम्परागत अन्नको स्वाद प्रस्तुत गरेको थियो । चुकन्दर र ताजा हरिया जडीबुटी मिसाइएको चुकन्दरको रायता तथा विभिन्न प्रकारका भारतीय रोटी पनि मेनुमा समावेश थिए ।

जेरीदेखि शहतूत फिरनीसम्म

रात्रिभोजको अन्तिम चरणमा परम्परागत भारतीय मिठाई प्रस्तुत गरिएको थियो । पुरानो ‘दिल्ली फ्रुट क्रिम विथ जेरी’मा मौसमी फलफूल, हल्का लपेटिएको क्रिम र खुरुम–खुरम परेको जेरीको संयोजन गरिएको थियो ।

त्यस्तै, दूध र चामललाई मन्द आँचमा पकाएर तयार गरिएको शहतूत फिरनीलाई मीठो शहतूत र सुनको पातले सजाइएको थियो । खिरजस्तो बनावट भएको यस मिठाईले भारतीय परम्परागत मिठाईको स्वादलाई नयाँ ढङ्गले प्रस्तुत गरेको थियो ।

१६० कलाकारको सांस्कृतिक प्रस्तुति

रात्रिभोजमा खानपानसँगै भारतीय कला र संस्कृतिको विशेष प्रस्तुति पनि गरिएको थियो । भारतसहित ब्रिक्सका सदस्य तथा साझेदार देशका करिब १६० कलाकारले ‘ब्रिक्स सिम्फनी–वन रिदम, मेनी कल्चर्स’ अर्थात् ‘एक लय, अनेक संस्कृति’ शीर्षकमा सांगीतिक तथा नृत्य कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रममा भारतीय कलाकारहरूले भरतनाट्यम, कुचिपुडी, ओडिसी र कथकजस्ता शास्त्रीय नृत्य प्रस्तुत गरेका थिए । विभिन्न भारतीय वाद्ययन्त्रको धुन र परम्परागत संगीतले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो ।

‘ब्रिक्स सिम्फनी’मा भारतका साथै अन्य सदस्य तथा साझेदार देशका संगीतकार पनि सहभागी थिए । विभिन्न देशका परम्परागत वाद्ययन्त्र र संगीत शैलीलाई भारतीय शास्त्रीय नृत्यसँग जोडेर संयुक्त प्रस्तुति तयार गरिएको थियो ।

आयोजकका अनुसार कार्यक्रमको उद्देश्य विभिन्न सभ्यता र संस्कृतिलाई एउटै मञ्चमा ल्याउनु तथा ब्रिक्स देशहरूबीच सांस्कृतिक सम्बन्ध बलियो बनाउनु थियो । कार्यक्रमको नेतृत्व भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीसीआर)ले गरेको थियो ।

खानपान र कलामार्फत कूटनीतिक सन्देश

ब्रिक्सको रात्रिभोजमा प्रस्तुत मेनु र सांस्कृतिक कार्यक्रमले भारतको क्षेत्रीय विविधता, परम्परागत खानपान र कला–संस्कृतिलाई अन्तर्राष्ट्रिय पाहुनासमक्ष प्रस्तुत गरेको थियो । गुजरातको खान्डवीदेखि हिमाली गुच्छी च्याउ, दक्षिण भारतीय पोरियल र पुरानो दिल्लीको जलेबीसम्मका परिकारले भारतका विभिन्न क्षेत्रका स्वादलाई एउटै मेनुमा समेटेका थिए । त्यस्तै, विभिन्न देशका संगीत परम्परासँग भारतीय शास्त्रीय नृत्यको संगमले सांस्कृतिक सहकार्यको सन्देश दिएको थियो ।

यसरी ब्रिक्सको रात्रिभोज कूटनीतिक भेटघाटसँगै भारतीय स्वाद, कला र संस्कृतिको प्रवद्र्धन गर्ने महत्वपूर्ण अवसर बनेको थियो ।