सात वर्षपछि भारत भ्रमणमा आएका चिनियाँ राष्ट्रपति सी चिनफिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबिच द्विपक्षीय वार्ता भएको छ ।
शिखर सम्मेलनका क्रममा दुई शीर्ष नेताबिच भएको भेटवार्ता फलदायी रहेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले जानकारी दिएका छन् । उनका अनुसार तियानजिनमा भएको अघिल्लो भेटवार्तापछि भारत–चीन सम्बन्धमा देखिएको स्थिर प्रगतिको दुवै नेताले समीक्षा गरेका छन् ।
प्रवक्ता जयसवालका अनुसार दुवै नेताले सीमा क्षेत्रमा शान्ति र स्थिरता कायम राख्नुपर्ने आवश्यकता र महत्त्वमा जोड दिएका छन् । साथै, उनीहरूले पारस्परिक सम्मान, पारस्परिक हित र पारस्परिक संवेदनशीलताका आधारमा आपसी सहकार्यलाई अघि बढाउने प्रतिबद्धता दोहोर्याएका छन् । यसैबिच, प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल ‘एक्स’मा राष्ट्रपति सीसँगको तस्बिर पोस्ट गर्दै आफूहरूबिच भारत–चीन सम्बन्धका सबै पक्षमा समीक्षा भएको उल्लेख गरेका छन् । उनले आगामी वर्ष सुरु हुने चीनको ब्रिक्स अध्यक्षताका लागि चिनियाँ पक्षलाई शुभकामना दिएको समेत बताएका छन् ।
भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सी चिनफिङले आगामी वर्ष चीनले ब्रिक्सको अध्यक्षता सम्हाल्ने र १९औँ ब्रिक्स शिखर सम्मेलनको आयोजना गर्ने घोषणा गरेका छन् । यस विषयमा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ताले सामाजिक सञ्जाल ‘एक्स’मार्फत जानकारी दिँदै चीनले यो अवसरलाई सहमति निर्माण गर्न तथा सबै पक्षहरूसँग मिलेर भविष्यको योजना तय गर्न सदुपयोग गर्ने बताएकी छन् । उनले सबै मिलेर ब्रिक्स सहकार्यको तेस्रो स्वर्णिम दशकको सुरुवात गर्ने समेत उल्लेख गरेकी छन् ।