इरानका राष्ट्रपति मोसुद पेजेस्कियानले आफ्नो देश र ओमानले सोमबार मस्कटमा हर्मुज जलमार्गमा संयुक्त नौपरिवहन मार्ग तोक्ने सम्झौतामा हस्ताक्षर गर्ने बताएका छन् । बहराइनले भने उक्त बैठकमा सहभागी नहुने शनिबार जनाएको छ । ‘इरानियन स्टुडेन्ट्स न्यूज एजेन्सी’ले शनिबार रिपोर्ट गरेअनुसार पेजेस्कियानले १८औँ ब्रिक्स शिखर सम्मेलनका लागि नयाँ दिल्ली भ्रमणका क्रममा भारतीय टेलिभिजन च्यानल इन्डिया टुडेसँगको अन्तर्वार्तामा यी कुरा बताएका हुन् ।
उनले भने, “क्षेत्रीय अरब राज्यहरू र इरानका विदेश मन्त्रीहरू सोमबार मस्कटमा भेट्नेछन् र उनीहरूको उपस्थितिमा संयुक्त मार्गसम्बन्धी सम्झौतामा हस्ताक्षर गरिनेछ तथा यसलाई अन्तर्राष्ट्रिय समुद्री सङ्गठनबाट घोषणा गरिनेछ । इरानको विदेश मन्त्रालयले शुक्रबार भनेको थियो, खाडी तटीय राज्यहरूका विदेश मन्त्रीहरू सोमबार ओमानमा भेटेर क्षेत्रीय मुद्दाहरूमा विचार आदानप्रदान गर्ने तालिका छ, जसमा होर्मुज जलसन्धिमा सुरक्षित मार्ग तोक्ने विषयमा इरान र ओमानबिचको वार्ता पनि समावेश छ ।
यसैबिच, बहराइनको विदेश मन्त्रालयले शनिबार भनेको छ, “बहराइन हर्मुज जलसन्धिको अवस्थासम्बन्धी प्रस्तावित मन्त्रीस्तरीय बैठकमा सहभागी हुनेछैन।” मन्त्रालयलाई उद्धृत गरी बहराइन न्यूज एजेन्सीले बताएको छ, “दुई देशबिच कूटनीतिक सम्बन्ध पुनर्स्थापना नभएसम्म बहराइन इरान संलग्न कुनै पनि सामूहिक बैठकमा सहभागी हुनेछैन।”
बहराइनले सन् २०१६ जनवरीमा इरानसँग सम्बन्ध तोडेको थियो । मन्त्रालयले यो अडान आधिकारिक माध्यमबाट ओमानलाई पहिले नै जानकारी गराइसकेको बताउँदै थप्यो, “यसले ओमानी प्रयासहरूप्रतिको बहराइनको कदर वा विवाद समाधानको माध्यमका रूपमा संवादप्रतिको प्रतिबद्धतालाई घटाउँदैन।”
मन्त्रालयले भनेको छ,“बहराइनका पूर्वाधार र नागरिक स्थलहरूलाई लक्षित आक्रमणहरू भएका थिए । देश संवाद र तथ्यहरूलाई बेवास्ता गरेर सहभागी हुन सक्दैन।” बहराइनका पूर्वाधार र नागरिक स्थलहरूलाई लक्षित आक्रमणहरू भएका थिए । यसले साउदी अरबको पूर्व–पश्चिम तेल पाइपलाइनलाई लक्षित गरिएको आक्रमणले नागरिक र आर्थिक सुविधाहरूमाथिको आक्रमण अझै वर्तमान खतरा रहेको देखाएको पनि बतायो।
गत महिनाको अन्त्यतिर, इरान र ओमानले संयुक्त वक्तव्यमा होर्मुज जलमार्गमा अस्थायी संयुक्त नौपरिवहन करिडोर स्थापना गर्ने प्रस्तावित चरणबद्ध ढाँचाबारे विचार आदानप्रदान गरेको बताएका थिए। फेब्रुअरी २८ मा इरानमाथि अमेरिकी–इजरायली हमलापछि, तेहरानले यो रणनीतिक जलमार्गबाट आवागमनमा प्रतिबन्ध लगायो भने अमेरिकी सेनाले इरानी बन्दरगाहबाट आउने वा जाने जहाजहरूलाई लक्षित गरेर नौसैनिक नाकाबन्दी लगाएको छ ।