चिनियाँ नागरिकको विदेश यात्रासम्बन्धी नियम थप कडा

आप्रवासन आप्रवासन

 

 चीनले आफ्ना नागरिकको विदेश यात्रासम्बन्धी नियम थप कसिलो बनाएको छ। 

सोमबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार राष्ट्रिय सुरक्षा वा राष्ट्रिय हितमा असर पुऱ्याएको ठहर भएका चिनियाँ नागरिकलाई स्वदेश फर्किसकेपछि तीन वर्षसम्म चीनबाट बाहिर जान रोक लगाउन सकिनेछ।

प्रविधि आयात तथा निर्यातसम्बन्धी नियम उल्लङ्घन गरी राष्ट्रिय औद्योगिक वा प्राविधिक सुरक्षामा खतरा पुऱ्याउन सक्ने गतिविधिमा संलग्न नागरिकलाई समेत विदेश जान प्रतिबन्ध लगाउन सकिने व्यवस्था गरिएको छ। चिनियाँ अधिकारीहरूले नयाँ नियम साधारण नागरिकको यात्रामा प्रतिबन्ध लगाउने उद्देश्यले नभएको स्पष्ट पारेका छन्। 

राष्ट्रिय सार्वभौमसत्ता र सुरक्षाको रक्षा, जोखिमपूर्ण गन्तव्यको भ्रमण नियन्त्रण तथा विदेशमा हुने ठगी, जुवा र अन्य गैरकानूनी गतिविधिबाट नागरिकलाई जोगाउन नियम ल्याइएको उनीहरूको भनाइ छ। तर केही चिनियाँ नागरिकले यसअघि नै अस्पष्ट कारण देखाएर वर्षौँसम्म यात्रामा प्रतिबन्ध भोग्नुपरेको बताएका छन्। 

नयाँ व्यवस्थाले विदेशमा रहेका चिनियाँ नागरिकमाथि सरकारको नियन्त्रण अझ बढाउन सक्ने विश्लेषकहरूले चिन्ता व्यक्त गरेका छन्। हङकङ विश्वविद्यालयको सेन्टर फर एसिया ल का कार्यकारी निर्देशक डोन सेन्टसको धारणा छ, ‘यो नियम विदेशमा चिनियाँ नागरिकले सरकारविरुद्ध गर्ने प्रदर्शन वा अधिकारसम्बन्धी गतिविधि नियन्त्रण गर्ने अर्को माध्यम बन्न सक्छ।’