नेपाल र माइक्रोनेसियाबिच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएको छ ।
संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि राजदूत लोकबहादुर थापा र संयुक्त राष्ट्रसंघका लागि माइक्रोनेसियाका स्थायी प्रतिनिधि राजदूत जिम एस. लिपवेले सोमबार कूटनीतिक सम्बन्ध स्थापना गर्ने सम्बन्धी संयुक्त वक्तव्यमा हस्ताक्षर गरेका छन् । योसँगै नेपालले कूटनीतिक सम्बन्ध कायम गरेका देशको संख्या १८५ पुगेको छ । सम्बन्ध स्थापना गर्ने क्रममा भएको द्विपक्षीय भेटवार्तामा दुवै राजदूतहरूले आपसी हितका विषयमा छलफल गर्दै द्विपक्षीय तथा बहुपक्षीय सहकार्यलाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै, संयुक्त राष्ट्रसंघलगायतका बहुपक्षीय मञ्चमा सहकार्य अभिवृद्धि गर्ने विषयमा समेत उनीहरूले जोड दिएका थिए । नेपालले माइक्रोनेसियासँगको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै संयुक्त राष्ट्रसंघ तथा अन्य बहुपक्षीय मञ्चमा साझा प्राथमिकता र हितका विषयमा सहकार्य अघि बढाउने अपेक्षा गरिएको छ ।
ओशिनिया क्षेत्रमा अवस्थित यो एउटा टापु भएको देश माइक्रानेसिया चार वटा साना साना राज्य मिलेर बसनेको छ । यसको जनसँख्या एक लाख १५ हजार रहेको छ ।